#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व73938535018547828156539
नेपाल5041

‘ऊ आइमाई’

  • कौशिला रिसाल-

टिरिङटिरिङ मोबाइलमा तीन घण्टी बच्छ । सुनिता खानपिन गरी बच्चालाई सुताउने तरखरमा थिई । पहिलो घण्टी बजेको दश मिनेटपछि फेरि उही आवाजमा मोबाइलमा घण्टी बज्यो । यसपटक भने तुरुन्तै उसले कलबेल थिचेर दायाँ कानमा जोड्दै हेल्लो भनी । हेडफोन खोज्न पनि भ्याइएन । छोराले कता फालिदिएछ, होस् कसले सुन्छ र ? सोचेर फोनमा कुरा गर्न थाली । फोनमा बोलेको आवाजबाट महिला पुरुष छुट्याउन कठिन भएन । उसको आवासँगै एक धमिलो पुरुषको आकृति नाच्यो । उसले एक्कासी सोची हिरामानको बोली त ठीक छ ? होइन अब बल्ल इमोमा बोल्ने बेला हुँदैछ ।

हिरामान घर छोड्ने बेला अति भावुक बनेको थियो । विदेशिने बेलामा रुन्चे अनुहार पारेर उसले जीउ चिटिक्क परेकी, हँसिली, भद्र स्वभावकी सुनिताको अनुहार हेरिरहेको थियो । भर्खरै विहे गरेर ल्याएकी आफ्नी प्रिय श्रीमती छोड्नुपर्दा कुन चाहिँ श्रीमान खुसी होला ? ऊ देख्दा सोझी भए पनि मनकी अत्यन्त बाठी थिई । गहुँगोरी हिस्सी परेकी अनुहारकी ऊ केटाहरूका अघि उभिँदा जोसुकै आकर्षित हुन्थे । अनेक बहानामा उसँग बोल्न आउँथे । समय परिस्थिति हेरेर काम गर्न सक्ने क्षमता भएकैले उसँग हिरामान खुसी थियो । मान्छेको स्वभाव न हो दुःखमा आत्तिने र सुखमा मात्तिने सुनिताको हकमा पनि यसको केही सङ्केत मिल्न खोज्दथ्यो । धेरै पटक हेलो हेलो भन्दा भन्दै फोन फेरि काटियो । हिराको साथी हो कि ? ऊ एकछिन् असमन्जसमा परी ।

सुनिताले विहे नगर्दै पनि घरिघरि मिसकल गरेर सताउनेलाई फोन फर्काएरै थर्काउने गर्थी । तपाइँ किन फोन गरिरहनुहुन्छ ? मेरो बच्चा सुत्नेबेला डिष्टर्ब भयो । तपाइँलाई पुलिस लगाऊँ ? उसले दोहो¥याएर फोन गर्ने हिम्मत गर्दैनथ्यो । अझ उस्तै परे थपिदिन्थिी मेरो लोग्ने सेनाको उच्च पदमा हुनुहुन्छ नि खोरमा जाकिन मन छ भने ………उसले यसरी तह लगाएकी थिई पुरुषहरूलाई ।

भित्री मनमा कता कता नराम्रो अनुभूति भयो । उसले फोन नउठाउँने भन्दाभन्दै मन थाम्न सकिन । तुरुन्त सोची, “हिरा बिरामी पो प¥यो कि ?” यतिबेला के भन्नलाई कसले फोन ग¥यो होला त ? उसलाई आफ्नो बाको याद आयो, बा धेरै वर्षदेखि दमको रोगले थलिएका थिए । तेस्रो पटक फोनमा घण्टी बज्नासाथ उसले डराईडराई फोन उठाई । मसिनो स्वरमा भनी, “हेल्लोऽ..” उताबाट उही लोग्नेमान्छेको आवाज आयो । उसले सोध्यो, “कहाँ प¥यो ?” उसले बाध्यताले फोन उठाएकी थिई । उसलाई रिसमा भन्न मन लागेको थियो, मोबाइलमा प¥यो । तर यसपटक भने उसले रिस थाम्दै अलि कड्के स्वरमा भनी, “भन्नुस् के काम थियो, फोन गर्नुपर्ने ?” ऊ अलि अकमकियो, तुरुन्तै भन्यो, “आच्या ! मैले त तिमीलाई नै गरेको हो, चिनिनौ म माङ्मेन्दो हो क्या । उसले फेरि सोधी, “को माङ्मेन्दो ?” उसले स्पष्टिकरण दिँदै भन्यो, “अजयको बाबा क्या !” हा ! मेरो छोरो त लाकेस हो, उसले अलि झर्केर भनी । कालेको बाबा त होइन नि तपाइँ ? त्यो पुरुषले “सरी मैले घरमा मेरी बुढीलाई फोन गरेको थिएँ, कसरी तपाईंलाई पुग्यो ?” यति भनेर ढक्क फोन राख्यो । उसले यो कुरा आफ्नो लोग्नेलाई सुनाई । हिरामानले नम्बर नोटिस्ट गरेर राख्न सुझायो । उसले त्यो नम्बर मितिसहित टिपेर राखी ।

सुनितालाई त्यस रात निद्रा परेन । को थियो त्यो फोन गर्ने मानिस ? के भयो होला ? म राम्ररी बोलिन । उसलाई के समस्या थियो ? सोधेको भए हुने यस्तै कुरा खेलाउँदै उसले सिङ्गो रात ढाली । चिसा आँखा लिएर उठेकी उसले दिनभर आफ्नो लोग्ने सम्झिई । सम्झिई के भनौँ ? जे होस् ऊ विदेश हिँडेपछिका परिवेश उसका नजरमा आए । ऊ सुनिताको पेटमा दुई महिनाको गर्भ छोडेर विदेशिएको थियो । सुत्केरी बेलामा स्याहार्ने त परै जाओस्, उसलाई सुत्केरी ब्यथाले च्याप्दा हेर्ने कोही भएनन् । उसलाई यस कुराले असाध्यै पीडा हुन्छ । गर्भमा भएको सात महिना र छोरो जन्मेपछिका दुई वर्ष कसरी बित्यो सम्झँदा उसलाई पुनः दुःखको घाउ बल्झेको महसुस हुन्छ ।

दुईतीन दिनपछि त्यसरी नै फोन आयो । नम्बर उही । समय पनि अस्तिकै । बाबु भर्खरै सुतेको छ । भान्छामा सरसफाइको काम बाँकी नै छ । त्यसपछि बल्ल हिरामानलाई फोन गरेर दुःख सुख साटासाट गर्ने समय मिल्छ । उसले एक किसिमले आनन्दको सास फेर्दै थिई । यो एउटा फोनकलले उसको मानसिकतामा परिवर्तन ल्याइदियो । उसलाई के गरौँ गरौँ भयो । उसले हिरामानको स्थानमा त्यस पुरुषलाई राखेर हेरी । सुनिताले हिजो बिहान, बेलुका र अहिले पनि खाना खाने बेलामा उसलाई सम्झेकी थिई । हेल्लो, उताबाट आएको आवाजपछि ऊ बोली र तुरुन्त भनी, “आज पनि रङ नम्बर प¥यो कि ?” होइन होइन आज त मैले चिनेरै गरेको हो । कसरी नि ? अस्ति बोलेपछि त चिनिहालियो नि । सुनिताले सोची, “बोल्दैमा के हुन्छ र ?” आज सन्चो बिसन्चोका कुराकानी भए । यसपछि एक दिन बिराएर आउने फोन रोजै आउन थाल्यो । उनीहरूबिच पारिवारिक र व्यक्तिगत कुरा समेत हुन थाले । सुनिताले उसको नाम, थर र ठेगाना सोधी । उसले साँचो बतायो । लमजुङ जिल्ला, भुजुङ गापा वडा नंं पच्चीस ।
कहिलेकाहीँ यसो बोल्दैमा के पो होला र ? भनेर बोल्दा बोल्दै उनीहरूबिच यसरी बातचित हुन थालेको पनि धेरै भएछ । विदेश बसेको हिरामानले यो कुरा थाहा पाउने कुरै भएन । उसले श्रीमतीलाई धेरथोर पैसा पठाइरहन्थ्यो । घर बनाउनका लागि भनी बैङ्कमा छुट्टै जम्मा गरेको पैसा तीस÷पैँतीस लाख पुगेछ । उसले अब केही ऋण लियो भने दुई तलाको घर बनाउन सकिन्छ भन्ने सोचेर यसरी छुट्टै जम्मा गरेर राखेको पैसा घरमा पठाउने निधो ग¥यो । घर बनाउन सुरु गर्ने सल्लाह भयो । उनीहरूले पाँच वर्षअघि किनेका तीन आना तीन पैसाको घडेरी बेसीशहरको मूल सडकको छेऊमा थियो । सुनिताले राम्रो दिन हेरी माइती बोलाएर घरको जग खन्न लगाई । घाम पानी, केही नभनी एउटा तला ढलान गरिसक्दा थप पैसाको जरुरत प¥यो । दुवैको सल्लाहमा अपुग पैसाका लागि बैङ्कमा जग्गा राख्ने निधो भयो ।

छोरो स्कुल जान थाल्यो । सुनितालाई अब अलि फुर्सद भयो । सहदेवसँग निरन्तर फोन सम्पर्क भइरहन्थ्यो । उसलाई सहदेवसँग फोनमा बोल्ने लत बस्यो । आजभोलि उसैले फोन गर्न थाली । कहिल्यै फेसबुक नचलाउने ऊ मोबाइलमा कुरा गर्दा गर्दै उसैको सल्लाहमा फेसबुक चलाउने भई । लोग्नेसँग बोल्न सजिलो होस् भनेर हिरामानको निर्देशनमा इमो मात्र चलाउँथी । हुँदाहुँदा आजभोलि ऊ टिकटक सम्म हेर्ने र चलाउने भइसकी । सहदेवले उताबाट टिकटक पठाउँथ्यो । सुनिता त्यसलाई साँच्चैको ठानेर मख्ख पर्थी । यति राम्रो हिरो नर्तक मेरो मान्छे भएको भए, उसलाई हरपल यो सोच आउन थाल्यो । आफू यसै एक्लो उसै एक्लो ऊ आइहाले त म हिरालाई पनि छोडिदिन्थेँ । आखिर उसमा यस्तो सोचाइको विकास भयो ।

हिरामानले घरको ऋण तिर्न अफिसमा अतिरिक्त समय (ओटी) लिन थाल्यो । केही व्यस्तताका कारण श्रीमतीसँग निकै छोटो कुराकानी हुन थाल्यो । समय बित्दै जाँदा सुनिता आफ्नो लोग्नेसँग झर्काेफर्काे गर्न थाली । ऋणको भारले होला । फेरि घरको टन्टो । परिवार टाढा । सुख दुःख बुझिदिने कोही छैन, सोच्यो हिराले । तर फोन नउठाउने, उठाए पनि कम बोल्ने सुनिताको व्यवहार अलि अनौठो हुँदै गएको थियो । उता सहदेव पनि घरमा भन्दै नभनी सुनितासँग मात्र फोनमा झुण्डिन थाल्यो । सुनिताले ज्यान दुख्यो भनि भने म मालिस गर्छु भन्ने । टाउको दुखे म मसारिदिन्छु भन्ने, खाना, खाजा खायौ ? भनेर उसलाई सम्झाइरहने सहदेव बाहेक अरु कोही थिएन । उसैले पठाएको पैसाले आमाछोराको खर्च चल्न थालेको थियो ।

हिरामानले यस्तो कुनै औपचारिकता जानेन र निर्वाह गर्न आवश्यक पनि ठानेन । म केही पैसा कमाएपछि छिट्टै बिदा मिलाएर आउँछु भन्ने कुराकानी बाहेक अन्य आश्वासन थिएन हिरामानसँग । फोन हुँदै मेसेन्जर, मेसेन्जरमा भिडियो कल, फोटो आदानप्रदान, उताको आग्रह र अनुरोध टार्न नसक्ने भई सुनिता । उसलाई अरु केही प्रवाह भएन । लगभग ५५ लाखमा दुईतले ढलानवाला घर निर्माण भयो । सुनिता नयाँ घरमा सरी । ऊ अलि खर्चालु हुँदै गएकोले होला सायद हिरामानले आफैँ आउँदा केही पैसा ल्याउँला भन्ने सोचेर अति आवश्यक भन्दा बाहेक पैसा पठाउन पनि छोड्यो । लोग्नेको यस व्यवहारले सुनितालाई झन चिढ्यायो । हिरामानप्रति उसमा नकारात्मक भावना उब्जियो । उसले सोची ऋण तिर्न त जहाँसुकै जाओस् सामान्य खर्च पनि पठाउनै छोड्यो ।

सहदेव नेपाल आउने भयो । उसले सुनितालाई भेट्ने र छोड्नै नसक्ने आश्वासन दिएको थियो । एक दिन उनीहरूबिच गोप्य सल्लाह हुन पुग्यो । सहदेवले घर छोडेमा सुनिता पनि आफ्नो छोरा साथमा लिएर उसैसँग जान राजी भई । सहदेवले एकदिन आवेशमा आएर निर्णय ग¥यो, “ल म आएपछि जाने ।” केही दिनपछि सुनिताको घरमा ढोका लाग्यो । माइतीलाई पनि नभनी हिँडी । सहदेव काठमाडौँ झर्ने दिन एयर्रपोर्टमा भेट भएपछि एक रात काठमाडौँ बसेर उनीहरू निकै टाढा जाने योजनाका साथ भारत हिँडे ।

धेरै दिनदेखि सहदेवले घरमा फोन नगरेपछि उसको घरमा रुवाबासी चल्यो । छोरो पढाउने बेला लोग्ने बेपत्ता हुँदा उसकी पत्नी मिडियासम्म पुगी । उसले निकै लामो समयदेखि घरमा पैसा पठाएको थिएन । लोग्नेस्वास्नीबिच अत्यन्त न्युन संवाद हुने गर्दथ्यो । यसबाट सशीले केही सङ्केत पाएकी थिई । उसको आग्रहमा मिडियाले खोजबिनको कार्य अगाडि बढायो । ‘तीन वर्षे छोरोसहित श्रीमती बेपत्ता’ शीर्षकमा युटुब मिडियाले भिडियो प्रशारण ग¥यो । सुनिताको गाउँमा निकै हल्लीखल्ली भयो । यो भिडियो देखेर हिरामान बेहोस भयो । सुनिता हिँडेकी पन्ध्र दिनमा ऊ बल्लतल्ल आफ्नो घर पुग्यो । नयाँ घरमा छोरा र श्रीमतीसँग रमाउने उसको आशामा कुठाराघात भएकोले घरमा पुग्नासाथ ऊ मूर्छा प¥यो । उसलाई गाउँलेले सान्त्वना दिँदै उठाए । मिडियाले घेरिएको उसले पीडाको समयमा के के बोल्यो के के ? उसले जेजस्तो भए पनि सुनितालाई अँगाल्छु समेत भन्यो । यो सबै म्यासेज भिडियोसहित देशबाहिर समेत पुग्यो । भारतको केरलामा बसेका सुनिता र सहदेवले समेत थाहा पाए । सुनिता आत्तिई । सहदेवले जो आए पनि सुनितालाई आफूले कुनै हालतमा पनि नछोड्ने वचन दियो । उनीहरूले छोरालाई नजिकैको स्कुलमा भर्ना गरी सानोतिनो नोकरी खोजे ।

गाउँमा आइपुगेपछि हिरामान र सहदेवको श्रीमती सशीको दिनहुँ नयाँ नयाँ भिडियो बाहिरिन थाल्यो । गाउँलेहरूको आआफ्नै तर्क रह्यो । कसैले बुद्धिमा बिक्रो लागेछ भनेर गाली गरे । कसैले थुक्क …. भने । सुनिताकी सासू बुहारीप्रति खनिइन् । कुनै हालतमा मेरो छोराको सम्पत्ति फिर्ता नल्याई नछो्ड्ने भनेर मिडियासँगकोे कुराकानी सुनिता र सहदेवले पनि सुने । सुनिताको नाममा रहेको उक्त जग्गा र घर सहित करिब एक करोडको सम्पत्ति हिरामानको नाममा सारिनुपर्छ भन्ने सासूको अडान थियो ।

सहदेवकी श्रीमती सशीले मिडियासँग पानीमुनि गए पनि सहदेवलाई नछोड्ने कुरा बताई । दुवै परिवारको खर्चमा एउटा युटुब मिडिया भारतको केरलासम्म पुगेर दुई परिवारलाई सुनिता र सहदेवसँग भेट गराउन राजी भयो । त्यसपछि उनीहरू केरला पुगे । हिरामानले सहदेवलाई झम्टियो । उसलाई प्रहरी र स्थानीयबासीले रोके । सहदेवकी स्वास्नीले उसको मुखभरी थुकी । वातावरण असहज बन्यो । एक आपसमा रुवाबासी नै चल्यो । हिरामानले जबर्जस्ती काखमा लिन खोज्दा कहिल्यै बाबुको अनुहार नदेखेको छोरो आत्तियो । एक दिन केरलामा नै बसेर सहदेव र सुनितालाई नेपाल फिर्ता ल्याइयो । बाटोमा उनीहरू मौन रहे । छोरो रुवाँउँदै हिरामानले नै बोकेको थियो ।
उनीहरूमध्ये सहदेव र सुनितालाई जिल्ला प्रहरी कार्यलयमा लगियो । भोलिपल्ट बिहान माइती र घरगाउँले सबै भेला भए । तँ किन गइस् भन्ने प्रश्नमा सुनिताले पछिल्ला दिनमा हिरामानले वेवास्ता गर्दै गएको, फोनमा झर्कने, अपशब्द बोल्ने र अपमान गर्ने गरेको र दुईतीन महिनादेखि पैसा नपठाएको कुरा गरी । अझ म नेपाल झरेपछि तँ रहन्नस् भन्ने गरेको कुरा सुनिताको मुखबाट सार्वजनिक भए । सहदेवले पनि सुनितासँग माया बस्दै गएको र ऊ फोनमा रुँने हुँदा म दुवैजनालाई पाल्छु भनी विहे गरेको बतायो ।

सशीले मिडियासँगको अन्र्तवार्तामा भनी, “म श्रीमान (सहदेव) स्वीकार गर्छु ।” तर सहदेवले भने सुनितालाई पनि चाहेको छ, उसले प्रहरीसँग रुँदैरुँदै सुनितालाई पनि सँगै लैजान पाऊँ भनी बिन्ति बिसायो । प्रत्यक्ष रूपमा मिडियामार्फत् यो दृष्य सार्वजनिक भइरह्यो । दिनभरि दुई पक्षको बहस चल्यो । सहदेवलाई उसकी पहिली श्रीमती सशीको अधिकार लाग्यो । सशीले मैले उसलाई स्वीकारेँ अबदेखि सुध्रिनुपर्छ भनेका कुरा मिडियाले बाहिर ल्याए । सहदेवले सुनितालाई छोड्नै नसक्ने भन्दै रोएको अति मार्मिक भिडियो सार्वजनिक भइरहँदा सुनिताले भने सलाई सशीसँगै जान आग्रह गरी । कानुनतः सहदेवले सुनितालाई छोड्नैपर्ने भयो ।

हिरामान रोइरहेकी सुनितालाई छोडेर आफ्नो छोरो काखी च्यापी घर फर्कियो । उसले भोलिपल्ट आफ्नो नाममा जग्गा नामसारी गरिदिन सुनितालाई दबाब दियो । चुपचाप जग्गा नामसारी गरेर ऊ माइतीको घरमा गई । त्यसदिनको भोलिपल्ट लमजुङ सानो बजारमा यही घटनाले चर्चा पाएको थियो । सहदेवलाई उसका घरपरिवार श्रीमती र समाजले स्वीकार्ने, ऊ चोखो रहने तर सुनिता बिटुलो हुने ? उसलाई हिरामानले स्वीकार्न नसक्ने ? विदेश बसेर श्रीमतीको ख्याल नराख्नु उसको पनि त गल्ती हो नि । के यो सबै महिलाप्रतिको न्यायोचित व्यवहार हो ? महिलाहरू पँधेरामा कुरा गर्दै थिएँ । उता सुनिताकी सासू धान मिलमा जम्मा भएका छिमेकीलाई भन्दै थिई “मर्दकी पाँचोटी मेरो छोरो मर्द हो, ल्याउँछ अर्काे, अब सम्पत्ति हात लाग्यो” ।

चियापसलमा सृजनाले यस्तो घटनाको विवरण सुनाइरहँदा अनिताको मनमा केही बलिया प्रश्नले तनाब दिन थाले, यसरी नै घर छोडेको भए सहदेवले सशीलाई अपनाउँथ्यो ? यो एउटा गम्भीर विषय हो भने अर्काे कसरी हिरामानले सुनितालाई त्याग्न सक्यो ? वा सहदेवले चाहेर पनि किन अपनाउन पाएन सुनितालाई ? आखिर गल्ती सुनिताको धेरै कि सहदेवको ? सुनिता बिटुलिँदा सहदेव चोखो रह्यो कसरी ? पल्लो टेबलमा चिया खान जम्मा भएका लोग्नेमान्छेले गललल्ल हाँस्दै भनेको सुनियो, आखिर ऊ एउटी आइमाई …..??

सम्बन्धित समाचारहरु

ताजा समाचार