३० देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै

३० देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै


हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । 

सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भागलिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक/आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ । 

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । -एएनआई

Logo