गृहमन्त्रीलाई रविकाे प्रश्नः सुन प्रकरणको अनुसन्धानलाई भद्दा मजाक किन बनाइयाे ?

गृहमन्त्रीलाई रविकाे प्रश्नः सुन प्रकरणको अनुसन्धानलाई भद्दा मजाक किन बनाइयाे ?


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाक जस्तो देखिएको बताएका छन् । 

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताएका हुन् । 

उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरु हेर्दाखेरी एउटा भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जतिपनि पड्किएन ।’

सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कन्फिडेन्ट प्रहरीलाई दिन नसक्नुभएको हो कि ? पार्टी भित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो भन्दै प्रश्न गरे । राजनीतिक हस्तक्षेपले प्रहरीले  मिडियाको साहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको भन्दै यस्तो प्रश्न गरेका हुन् । 

उनले भने, ‘जतिपनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन् अर्को फोन दिए भन्नेकुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहान्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडियाको सहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ । त्यो कन्फिडेन्ट गृहमन्त्रीज्यूले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो ?’

सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुनपानी छर्किने काम गरेको उनको आरोप छ । 

Logo