कृषि र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण असार पन्ध्र

कृषि र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण असार पन्ध्र


  • सरद बिष्ट

नेपाल कृषि प्रधान देश भएकोले यहाँ असार महिनाको निकै महत्व छ । ‘असार मानो खाई मुरी उमार्ने महिना हो ।’ असार मासिकक्रम अनुसार तेस्रो स्थानमा पर्दछ । असारको तद्भव शब्द आषाढ हो । नेपाली जनजीवनमा असार खेतीपातीको महत्वपूर्ण याम भएकोले पनि असारलाई वर्षायाम र खेतीपातीको उत्तम याम भनिएको हो ।

“सानो छ खेत सानै छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान ।”

यी माथिका दुई हरफ कविताले पनि खेतीपातीमा परिश्रमी हुनुपर्छ । खेतीपाती नै नगर्ने हो भने परिवारको छाक टार्न समेत धौ–धौ हुने भएकोले असारको महिनालाई विशेष महिनाको रुपमा हेर्ने गरिन्छ । असारभरि र साउनको झण्डै आधा महिना जति कृषकहरु आफ्नो परिश्रम, मेहनत खेतीपातीमा नै बिताउने गर्दछन् । त्यसैले असारको महिना अलि बढी मिहेनत, परिश्रम र थकानको महिना भनेर चिनिन्छ ।

कृषकहरु राष्ट्रका धरोहर हुन् । कृषकहरुले कृषि पेशा अवलम्बन नगर्ने हो भने कृषि क्षेत्रमा ठूलो संकट पर्न सक्छ । त्यसैले कृषक यस धर्तीका पूजारी पराक्रमी र वीर पनि हुन् । नेपालमा कृषि पेशालाई सम्मानित पेशाको रुपमा नहेरिए पनि आमकृषकहरु आफ्नो दुःख, कष्ट भोगेर पसिना बगाएर र दश नङ्ग्रा खियाएर अरुका निम्ती गाँस, बास र कपास जुटाउन हर्दम तयार रहन्छन् ।

असार महिना रोपाईं गर्ने महिना मात्र होइन । यो महिनालाई विविधताको महिना पनि भनिन्छ । यही असार महिनाको मनसुनलाई आकलन गरेर वर्ष सुखद् वा दुःखद् रहने भन्ने कुरा अनुमान गर्न सकिन्छ । असार भरि राम्रोसँग वर्षात् भएमा खेतीपाती राम्रो हुने, रोगव्याधी नआउने र खडेरीको समस्या टर्ने बताइन्छ । अझ यस महिनाका असार १५ गतेलाई विशेष चार्डको रुपमा मनाइन्छ । दही–चिउरा र केरालाई विशेष परिकारको रुपमा लिई खाने गरिन्छ । सुन्दर प्रकृति, सिमसिमे पानीको वर्षात् र अरुबेला नफूलेर यही महिनामा मात्र फूल्ने असारे फूलको बिरुवाले असार महिनाको विशेष चिनारी झल्काउँछन् । अरु समयमा नघन्किने असारे गीतका भाका यही समयमा हरेक गरिखाने किसानका ओठहरुबाट बुलन्द हुने गर्दछ । अतः असार , धार्मिक साँस्कृतिक, कृषि र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

परापूर्वकालमा असार १५ गतेका दिन रोपाईंकै क्रममा त्यसबेलाका तत्कालिन राजा रानीले पनि हिलो कुल्चिएर रोपाईं कार्यक्रममा संलग्न भएको र रोपाईं सकिएपछि किसानहरुसँगै बसेर दही–चिउरा खाएको किम्वदन्तीसँग पनि असार महिनाको इतिहास जोडिएका छ । महिनाभरि हिलो माटोसँग खेल्ने र खेतीपातीमा नै व्यस्त रहने भएकाले शरीरमा थकान, बिरामी र छाला सम्बन्धी विभिन्न रोगहरु लाग्ने गर्दछ । मानिसहरुलाई त्यतिबेला असार १५ मा दहीको प्रयोग गर्नुको वैज्ञानिक कारण थाहा नभए पनि आयुर्वेदका विज्ञहरुले दहीलाई कब्जियतबाट मुक्त राखी पेटलाई सफा पार्ने, शरीरमा शीतलताको सञ्चार गराउने, तागत प्रदान गर्ने, छालालाई नरम बनाउने आदि अति उत्तम गुणहरु रहेको बताउँछन् । फलस्वरुप रोपाईंको क्रममा शारिरीक, मानसिक स्वास्थ्यका लागि हलि र रोपाहारहरुले दहीको प्रयोग गर्ने प्रचलन विकसित हुँदै आएको मान्न सकिन्छ । चिउराले भोक खटाउने र दिनभर खेतीपातीमा काम गर्न सहज हुने पौराणिक मान्यता पनि छ ।

हिजोआज असार महिना र असार पन्ध्रलाई विकृतीतिर ढल्काइएको देख्न सकिन्छ । खेतीपातीमा आधुनिकीकरण, कृषकहरुलाई वैज्ञानिक र प्राविधिक ज्ञान भन्दा पनि हाम्रो संस्कार संस्कृतिलाई सिध्याउने र पश्चिमीकरण गर्ने कामहरु हालसालैको असार पन्ध्रका सामाजिक सञ्जालमा चर्चाका लागि पोष्ट गरिएका विकृत तस्वीरले घाम झैं छर्लङ्ग पार्दछ । हामी कृषिप्रधान देशका कृषकहरु हौं । सरोकारवाला निकायका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले नै गमलामा धान रोपेर असार पन्ध्रको खिल्ली उढाएको पाइन्छ । सम्बन्धित निकाय र सरकार पनि सजग हुनुपर्दछ, हुनेबेला आएको छ । वर्षमा ३ सय ६४ दिन कार्यालयमा बसेर असार पन्ध्रमा नाटकिय शैलीमा एक दिन मात्र कृषकको खेतमा हिलो खेलेर कृषिक्रान्ति हुनेवाला छैन भन्ने कुरामा स्पष्ट हुनुपर्यो । असार पन्ध्रमा मन्त्रीले खेत रोप्दैमा उत्पादन बढ्ने हैन । यदि मन्त्री ज्यू र सरकारी प्रतिनिधि ज्यूहरु साँच्चिकै कृषिक्षेत्रलाई देश विकासको मेरुदण्ड बनाएर लैजाने हो भने विकसित देशका कृषकहरु जस्तै यहाँका कृषकहरुलाई पनि सक्षम बनाउने कार्यक्रम ल्याउनुस्, नेपालमा अझै ९५ प्रतिशत क्षेत्र एवम् भूभागमा परम्परागत कृषि प्रणालीबाट खेतीपाती गरिंदै आइएको छ । अब परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै कृषि उत्पादनको आधुनिक यूगमा प्रस्थान गर्ने कृषि कार्यक्रम जनताको बीचमा ल्याइदिनुस् अनि मात्र देशमा कृषि क्रान्ति हुनेछ ।

८० प्रतिशत नेपालीहरु कृषि पेशामा लागिरहँदा पनि देशमा खाद्यान्न अभाव हुन्छ र विदेशबाट आयात गर्नुपर्छ । यो आखिर किन भयो सरकारले पत्ता लगाउनु पर्दैन ? लगाउनुपर्छ र किसानका हरेक समस्यालाई हल गनुपर्छ, अनि मात्र देशमा आर्थिक समृद्धि आउँछ । अबको पालो आर्थिक समृद्धि भनेर भन्नुस् हैन भने कृषिक्रान्ति बिनाको आर्थिक समृद्धि पांग्रा बिनाको रथ जस्तै हुन्छ । नेपालमा जबसम्म कृषिमा कृषकहरुको लागि विशेष कार्यक्रम आउँदैन तब सम्म नेपालका कृषकहरुले ६ महिना पनि खान नपुग्ने रोपाईंको चटारो भइरहने छ।

Logo