ईः र काठमाडौँ महानगरबीच ४ बुँदे सहमति, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारबारे अध्ययन गर्न समिति गठन

ईः र काठमाडौँ महानगरबीच ४ बुँदे सहमति, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारबारे अध्ययन गर्न समिति गठन


काठमाडौँ महानगरका मेयर र उपमेयरको कार्यालय अगाडि प्रदर्शनरत अभियन्ता ईः र काठमाडौँ महानगरबीच चार बुँदे सहमति भएको छ। साना सडक व्यवसायीलाई विकल्प सहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति भएको हो। 

उनीहरुबीच बुधबार बेलुका चार बुँदे सहमति भएको हो। सहमतिसँगै ईःले आन्दोलनका कार्यक्रमहरु स्थगित भएको घोषणा गरेका छन्।फुटपाथ व्यवसायीको हक र अधिकारका लागि अभियन्ता ईः अनवरत १९९ घण्टादेखि काठमाडौँ महानगरपालिकाको कार्यालय र राष्ट्रिय सभागृह अगाडि उभिएका थिए। 

सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने र अनौपचारिक क्षेत्र मार्फत हुने व्यापारलाई महानगरले व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ।

समितिमा महानगरपालिकाका तर्फबाट तीन जना, अभियन्ताका तर्फबाट दुई जना प्रतिनिधि र भौतिक तथा यातायात मन्त्रालयबाट एक जना प्रतिनिधि रहने उल्लेख छ।

समितिले २ महिना भित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्नुपर्ने छ। यस्तै फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक  उपयुक्त स्थानको पहिचान गर्न महानगरपालिकाले  एक हप्ताभित्र पहल गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।  

 

Skip This
Logo