जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैनः प्रवक्ता यादव

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैनः प्रवक्ता यादव


जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ । 

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई तीव्रता दिएको सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताए ।

पार्टीको आगामी रणनीतिबारे आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै प्रवक्ता यादवले पार्टी बन्दै गरेको अवस्थामा आगामी निर्वाचनलाई लक्षित गरेर वडा तहदेखि नै सङ्गठन निर्माणमा केन्द्रित हुने बताए । उनले आफूहरू सत्ता गठबन्धनमा रहेको तर, अब आउने निर्वाचनमा कुनै पनि चुनावी गठबन्धन नगरी पार्टीले एक्लै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे ।

पार्टी अध्यक्ष चन्द्रकान्त (सिके) राउत सरकारमा नजाने नीति हो भन्ने जिज्ञासामा प्रवक्ता यदावले आगामी निर्वाचनमा केन्द्रित भएर सङ्गठन निर्माणमा बढी खट्नुपर्ने भएकाले उनले मन्त्री बन्न हतारो नगर्ने उल्लेख गरे ।

“हाम्रो पार्टीको मिसन भनेको मधेस प्रदेशमा आफ्नै दुईतिहाइको बहुमतको सरकार बनाउने र लुम्बिनी प्रदेशमा सरकार बनाउने हो”, उनले भने, “कोशी प्रदेशमा निर्णय गर्ने ठाउँमा पार्टीलाई उभ्याउने तथा सङ्घमा पनि बढीभन्दा बढी सिट जितेर सरकारमा ठूलो सहभागितासहित काम गर्ने नीति र योजनाअनुरुप नै  अध्यक्षजी अहिले सरकारमा गएर मन्त्री बन्न इच्छुक हुनुहुन्छ ।”

Skip This
Logo