विराटनगर पुगेर अध्यक्ष ओलीले भने- सरकार तस्कर र अपराधीको संरक्षण गर्दैछ

विराटनगर पुगेर अध्यक्ष ओलीले भने- सरकार तस्कर र अपराधीको संरक्षण गर्दैछ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन्। 

पार्टीको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आएका उनले अहिलेको गठबन्धन सरकारले जनता र देशका लागि राम्रो काम गर्न नसकेको टिप्पणी पनि गरे । ‘यो अपराध संरक्षण गर्ने सरकार हो’ उनले भने, ‘यो तस्कर संरक्षण गर्ने सरकार भयो । यसले नेपाली जनता र देशलाई केही पनि राम्रो दिन सकेन ।’

उनले एमाले सरकारमा जान इच्छुक नभएको पनि बताए ।

‘हामी अहिले सरकारमा जान चाहिरहेका छैनौँ । यो सरकार हटाउने हो भने, अर्काे त्यस्तो उपयुक्त विकल्प म देख्दिनँ । प्रमुख राजनीतिक पार्टीहरू जिम्मेवार हुँदा विकल्प हुने भए पनि त्यस तहमा गएर सोच्ने खालको क्षमता सामर्थ कांग्रेसमा मैले देख्या छैन’ अध्यक्ष ओलीले भने ।

आजदेखि विराटनगरमा एमालेको कोशी प्रदेश अधिवेशन हुँदैछ । अधिवेशन उद्घाटन गर्न उनी विराटनगर आएका हुन् । आज उद्घाटन सत्र र अतिथिहरुको मन्तव्य राख्ने कार्यक्रम छ । अधिवेशन भोलिसम्म चल्नेछ । 

अधिवेशनका लागि कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी, पर्यवेक्षक र केन्द्रीय नेताहरुको सहभागिता छ ।

Logo