विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम

विद्यालयस्तरीय स्वास्थ्य साक्षरता कार्यक्रम


विद्यालयमा सञ्चालन गरिने स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रमले छात्रछात्रामा सकारात्मक प्रभाव पर्ने औँल्याइएको छ। यस्ता प्रशिक्षणले उनीहरुको वृद्धि विकासमा टेवा पुग्नुको साथै यसको प्रभाव समाजमा समेत देखिएको छ।

लाकोस संस्थाको सहयोगमा ‘सिप्ला सेकुरेटिज प्रालि’द्वारा हाइल्याण्ड आवासीय मावि धुञ्चेमा आयोजित स्वास्थ्य सम्बन्धी प्रशिक्षणबाट छात्रछात्रामा सकारात्मक परिवर्नत देखिएको हो।   

ती संस्थाले छात्रछात्रालाई नियमितरूपमा शारीरिक स्वच्छता कायम कसरी राख्ने, पर्यटन विकास र स-साना उद्योगबाट कसरी आय गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही खुलारूपमा प्रशिक्षण दिएका थिए।
          
स्वास्थ्यसम्बन्धी विषयमा बढी केन्द्रित रहेको सो प्रशिक्षणमा स्तन तथा पाठेघरमा हुने क्यान्सनप्रति पूर्वसावधानी, स्यानिटरी प्याडको प्रयोग, शारीरिक सरसफाइजस्ता विषयमा जानकारी गराइएको थियो।  

प्रशिक्षणले छात्रछात्रालाई स्वास्थ्यसम्बन्धी चेतनाको वृद्धि विकासमा टेवा पुगेको हाइल्याण्ड माविले जनाएको छ। कार्यक्रममा नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ र आयोजक संस्थाका अध्यक्ष राहुल अग्रवालले  स्वास्थ्य प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए। 

सो अवसरमा सो विद्यालयका बालबालिकाद्वारा  मनोरञ्जनात्मक नृत्य प्रदर्शन एवं स्वास्थ्यका विषयमा खुला प्रश्नोउत्तर समेत गरिएको थियो। लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष उत्तमबहादुर थापाले यस्ता चेतनामूलक कार्यक्रम विकट स्थानको गाउँगाउँसम्म पुर्याउन सुझाव दिए।

Logo