रिपोर्ट कुर्दा कुर्दै क्वारेन्टाइनमै बिते महिना दिन, अझै टुंगो छैन

रिपोर्ट कुर्दा कुर्दै क्वारेन्टाइनमै बिते महिना दिन, अझै टुंगो छैन


बैतडी ।

भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ । क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् । स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् ।

क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत रिपोर्ट नआउँदा समस्या भएको उनीहरुको गुनासो रहेको छ । पुर्चौंडी नगरपालिका–८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन् । लक्ष्मणको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् ।

यस्तै भारतबाट फर्केर गत जेठ १७ गतेदेखि क्वारेन्टाइनमा बसेको भए पनि हालसम्म पनि रिपोर्ट नआएको सुर्नया गाउँपालिका–२ का राजेन्द्र विष्टको गुनासो रहेको छ । नेपाल राष्ट्रिय मावि सिउडेको क्वारेन्टाइनमा बसेका राजेन्द्र लगायत अन्य १० जनाको आरडीटी पोजेटिभ आएको भए पनि रिपोर्ट आएको छैन ।

असार २ गते स्वाब संकलन गरी पठाइएको भए पनि हालसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिएको उनले बताए। यसका साथै क्वारेन्टाइमा बसेका नागरिकको आत्मबल तथा हौसला बढाउन हालसम्म पनि कुनै जनप्रतिनिधि नआएको उद्धव चन्दको गुनासो रहेको छ ।

उता सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने प्रदेशमा एउटा मात्रै परीक्षण गर्ने मेसिन भएकाले रिपोर्ट आउन ढिलाइ भएको बताए । क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल र हौसला बढाउन आफूहरु क्वारेन्टाइनमा पुग्ने विष्टको भनाइ छ ।

जिल्लाका १० वटै स्थानीय तहमा १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये धेरैजसो आरडीटी रिपोर्ट पोजेटिभ आएका नागरिक हुन् ।

बैतडीका आरडीटी पोजेटिभ आएका ५ सय बढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा धनगढीमा एउटा मात्रै पीसीआर गर्ने प्रयोगशाला रहेकोले परीक्षण गर्न ढिलाइ भइरहेको हो ।
नेपाल समाचारपत्रबाट

Logo