पतिका हत्यारा रिगललाई सरकारले आममाफी दिएपछि भारतीले शुरु गरिन् रिले अनशन

पतिका हत्यारा रिगललाई सरकारले आममाफी दिएपछि भारतीले शुरु गरिन् रिले अनशन


चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीकाे विराेधमा भारती मानन्धरले अनशन थालेकी छन् । श्रीमानकाे न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले बुधवारबाट माइतीघरमा रिले अनशन सुरु गरेकी हुन् । 

अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी छन्- ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ ।’

नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।  

हाल  गुण्डा नाइके रिगलको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पत्नी भारतीले आठ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा हत्याराको आममाफीले झनै पीडा दिएको बताएकी थिइन् । चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुस भएको पनि राष्ट्रपतिले आममाफी दिएर पुरानो घटनाको पीडा दोहार्याइदिएको उनको आरोप थियाे । 

रिगल आममाफी प्रकरणः राष्ट्रपतिमाथि पीडितको प्रश्नैप्रश्न, भोलिदेखि रिले अनशन [भिडियाेसहित]

Logo