खाँडादेवी मन्दिर जाने सडक दसैंअघि नै स्तरोन्नति हुने

खाँडादेवी मन्दिर जाने सडक दसैंअघि नै स्तरोन्नति हुने


ऐतिहासिक तथा धार्मिक शक्ति पीठ खाँडादेवी मन्दिरमा जाने सडक दसैंअघि नै स्तरोन्नति गरिने भएको छ । 

खाँडादेवी गाउँपालिकाले मन्दिरसम्म जाने कच्ची सडक स्तरोन्नति गर्न लागेको हो । मन्थली–गाल्पा सडकको माकादुम रायगाउँदेखि खाँडादेवी मन्दिरसम्मको सडक स्तरोन्नति गर्न लागिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । 

सो सडक मर्मतका लागि यस आर्थिक वर्षमा खाँडादेवी गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ । सोही रकमबाट खाँडादेवी गाउँपालिको रायगाउँदेखि मन्दिरसम्मको सडक मर्मत गरिने उनले बताए । 

सडकको स्तरोन्नतिका लागि प्राविधिक नाप जाँचको काम सम्पन्न भएको श्रेष्ठले बताए । सो क्रममा मन्दिर नजिकको माथिल्लो भाग उकालो र चिप्लो भएकोले ढलान गर्नुपर्ने प्राविधिक स्टमेटमा देखिएको छ । 

त्यस्तै, राय गाउँ माथि चुल्ठेपानी जाने भागमा दुईवटा मोड अति साँघुरा, विकट र उकाला भएकाले त्यसको पनि स्तरोन्नति गरिने उनले बताए । ‘अहिलेको बजेटले सबै काम गर्न त नपुग्ला तर सबैभन्दा अप्ठेरो ठाउँमा मर्मत सुधार गर्ने योजना बनाएका छौँ, श्रेष्ठले भने । 

दसैंमा खाँडादेवीको दर्शन गर्न टाढादेखिका भक्तजनको घुइँचो लाग्ने भएकोले दशैँ अघि नै उपभोक्ता समिति मार्फत सडक निर्माणका काम गर्न लागिएको श्रेष्ठले बताए । कम्तीमा साना गाडी सजिलै मन्दिरसम्म पुग्ने गरी सडक मर्मत गरिने उनले जानकारी दिए । 

खाँडादेवीलाई ऐतिहासिक र धार्मिक शक्ति पीठ मानिन्छ । खाँडादेवी मन्दिरमा वर्षै भरी दर्शन र भाकल पूजा गर्न मानिसहरू आउने भए पनि घटस्थापनाबाट भने ठुलो सङ्ख्यामा भक्तजनहरू पञ्चवलि लिएर पूजा गर्न जान्छन् । रामेछाप सहित, दोलखा, ओखलढुङ्गा, सिन्धुली लगायतका तराइका जिल्ला तथा काभ्रे, भक्तपुर, ललितपुर काठमाडौं लगायतका क्षेत्रबाट ठुलो सङ्ख्यामा पञ्चवलि आउने गर्दछ । 

अहिले मन्दिरमा काठमाडौँबाट सित्खा हुँदै वा जिल्ला सदरमुकाम मन्थलीबाट पकरबास हुँदै माकादुमसम्म पुग्ने पक्की बाटो भए पनि माकादुमको रायगाउँबाट मन्दिरसम्म पुग्ने केही किलोमिटर सडक कच्ची छ । साँघुरो, उकालो र कच्ची सडक भएको कारण यातायात साधन आवागमनमा निक्कै जोखिम छ । सोही जोखिमलाई कम गर्न गाउँपालिकाले सडक मर्मतको काम गर्न लागेको हो । 

Logo