सर्वोच्च अदालत परिसरमै बेहोस भएर ढलिन् भारती, लगियो वीर अस्पताल

सर्वोच्च अदालत परिसरमै बेहोस भएर ढलिन् भारती, लगियो वीर अस्पताल


श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध अनशन थालेकी भारती मानन्धर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी छन् । 

कैद मिनाह गर्ने सरकारको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च अदालत पुगेकी थिइन् । तारिख लिएर फर्किने क्रममा सर्वोच्च परिसरमै बेहोस भएर ढलेपछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।

श्रीमानको न्यायका लागि नेपालगञ्जबाट काठमाडौं आएकी भारतीले बुधवारबाट माइतीघर मण्डलामा रिले अनशनसमेत सुरु गरेकी छन् । अनशनस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भनेकी थिइन् ‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु । म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ ।’

नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।  

हाल  गुण्डा नाइके रिगलको आममाफी सर्वत्र आलोचनाको विषय बनेको छ ।

Logo