ट्राफिक सप्ताहमा रक्तदान

ट्राफिक सप्ताहमा रक्तदान


सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक  राजेन्द्रप्रसाद भट्टलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी कार्यक्रमको सुरुआत भएको थियो । बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पूर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक स्वयमसेवकलगायत गरी एक सय २० जनाले रक्तदान गरेका थिए ।

ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक सम्बन्धी ज्ञान दिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी  तथा स्काउटलगायत  सवारी चालक र परिचालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका चेतनामूलक कार्यक्रम भइरहेको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

Logo