#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21185108759529643478013990799
नेपाल2555199837517077

काठमाडौं छाड्नुकाे कारण अर्कै छ : मणिराज सिंह

मणिराज सिंह ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् । विगतमा मासिक रुपमा काठमाडौंमा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएका सिंह पछिल्लो समय जन्मथलो महोत्तरीमै क्रियाशिल छन् । संस्थाका स्थापनाकालदेखि नै प्रतिष्ठानका अध्यक्ष रहेका सिंहको महोत्तरी बसाइँपछि ज्योति साहित्य समाजका गतिविधिहरु ठप्प भएका छन् । किन ज्योति साहित्य समाजका गतिविधि ठप्प भए त ? प्रस्तुत छ केन्द्रविन्दु कर्मी रसिकले कवि सिंह सँग गरेको ५ प्रश्न ।

ज्योति साहित्य प्रतिष्ठान के गरिरहेको छ अहिले ?
– ज्योति साहित्य प्रतिष्ठान वि.स.२०६४ मा काठमाडौंमा स्थापित साहित्यको सेवा गर्न स्थापना भएको संस्था हो । हाल केही समयदेखि निरन्तर कार्यक्रम गर्न केही सकिरहेको छैन ।

प्रतिष्ठान कार्यक्रम किन ठप्प भयो ?
– ज्योति साहित्य प्रतिष्ठानको कार्यक्रममा हाल निरन्तरता छैन । म हाल महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका अन्तर्गत बसविट्टी गाउँमा व्यस्त हुन परेकोले कायक्रममा निरन्तरता दिन सकिएन ।

काठमाडौंमा रहेर साहित्य सृजनामा रमाइरहेको तपाई काठमाडौंबाट एकाएक हराउनु भयो किन ? साहित्यबाट सन्यास लिन लाग्नु भएको हो की वा अन्य कुनै कारणले ?
– महोत्तरीको रामगोपालपुरमा रहेको उच्च मा.वि. बसविट्टी बसन्तपुरको व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि म त्यता व्यस्त हुनु पर्यो । विद्यालयको पठनपाठन स्तरीय गर्न व्यस्त भए । हाल त्यस उच्च मा. वि. मा डिप्लोमा इन सिभिल इन्जिनियरिङको ३ वर्ष कोर्सको अध्यापन पनि सुरू गर्यो । त्यसकारण काठमाडौंमा नियमित समय दिन नसकेको हो । साहित्यबाट सन्यास लिने भन्ने कुरा हुँँदैन । केही सिर्जना र समयमा अन्तर्वाता त मिडियामा आइरहेको छ । काठमाडौंमा आएको समय कविता वाचन गरेकै छु कार्यक्रमहरूमा । महोत्तरी मेरो जन्मस्थान हो ।
काठमाडौं कर्मभूमी हो । त्यसकारण महोत्तरीको बसविट्टी र काठमाडौं आउनेजाने भइरहन्छ । मेरो लागि साहित्य मुख्य कुरा हो । सात समुद्र पारीका सर्जकहरू त नेपाली साहित्यमा क्रियाशिल छन् भने म त नेपालमै छु । अरु कारण होइन ।

पछिल्लो समय के लेख्दै हुनुहुन्छ ?
– कविता नै लेख्दै छु । २०७७ भित्र एउटा कवितासङग्रह निकाल्न प्रयास गर्दैछु ।

आफुले लेखेको र आफैलाई मन परेको कविता कुन हो ?
– लोकतन्त्रको अस्मिता । यो कविताले देश बोलेको छ ।

लोकतन्त्रको अस्मिता

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकि खानेहरूले
कालोसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरुलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होश समेत हुने छैन !

शब्दहरू नबुझिने गरी
जब हल्लाले तातिनेछ बजार
उचाल्दै आफ्नै खप्पर र नलीहाड
व्युतिनेछन् पुर्खाहरू मशान भत्काउँदै
नदीहरू उफ्रदै
घुघुतिवासुति गर्नेछन्
सूर्यको छातीमा
त्यतिखेर,
सूर्य–चन्द्र अङ्कित अटल झण्डामा
टल्काउँदै खुकुरीको धार
चट्याङ्गहरू
खेती गर्न तम्सने छन्
आस्था र विचारको !

एक टुक्रा भोकसित
नून–खोर्सानी टोक्दै
मुर्कुटा भूँइचालो
आँखामा बास माग्दै हिडेका सपनाहरू
काटकुट पारेर
जूनको सितनसित
तारेर खानेछ नयाँ विहानी
उल्टोबाट कखरा घोकाइनेछ बबुराहरूलाई
टाउको खाने निहुँमा
पटक–पटक सुत्केरी हुनेछ बैँसालु घाम
घाइते सम्भावना वोकेर
विरोध जुलुस निस्कनेछ हाँसहरूको
भालेहरु बाँस्दै हिड्नेछन् मध्यान्हमै
सिउँर उचालेर
त्यस बखत,
भूत र वर्तमान च्यापेर
नापिरहनेछ समय
लोकतन्त्रको अस्मिता !

सम्बन्धित समाचारहरु

ताजा समाचार