टोखा नगरले एक सातामा उठायो ८५ लाख बढी कर

टोखा नगरले एक सातामा उठायो ८५ लाख बढी कर


टोखा नगरपालिकाले एक सातामा ८५ लाख बढी कर संकलन गरेको छ । 

टोखा नगरपालिकाले असोज १४ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको कर सप्ताहको समापन कार्यक्रममा आज नगरप्रमुख प्रकाश अधिकारीले टोखा बासीले तिरेको करको दुरुपयोग नहुने दाबी गरेका छन् । 

कर सप्ताहको समापनमा धेरै कर तिर्ने करदातालाई धन्यवाद दिंदै नगरप्रमुख अधिकारीले नागरिकले तिरेको करको दूरुपयोग नगर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘करको कुनै दूरुपयोग हुँदैन, तपाइँहरु वडा कार्यालय र नगरपालिका मार्फत गरेको कामलाई नजिकबाट नियाल्नुहोस् । यदी कँही करको दूरुपयोग भएको पाइयो भने कारबाही गर्न नगरप्रमुख हिजो पनि तयार थियो, आजपनि छ र भोलि पनि तयार रहने प्रतिबद्धता गर्छु । र यो टोखा बनाउने काममा हामी सबै जुट्नुनै कर लिनुको लक्ष्य हो ।’

नगरपालिकाले लामो समयसम्म कर नतिर्ने ठूला करदाता र नागरिकलाई ४० प्रतिशत सम्म करमा छुट दिएर एक सातासम्म बढी भन्दा बढी कर उठाउने प्रयास गरेको छ । जसमा नगरपालिकाले विभिन्न ११ वटा वडा कार्यालयमार्फत ८५ लाख,६८ हजार २ सय ७९ रुपैयाँ कर संकलन गरेको उनले जानकारी दिए । 

नगरप्रमुख प्रकाश अधिकारीले करको सदूपयोग गरी नगरविकासलाई अगाडि बढाउन सहयोग पुग्ने धारणा राख्दै बाँकी रहेको कर तिर्न सबैलाई आग्रह गरे । साथै उनले नगरपालिकालाई सफा राख्ने कार्यमा नगरबासीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै नगरबासीलाई नगरपालिकालाई सफा सुग्घर राख्न आग्रह समेत गरे ।

Logo