#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व590967736210229645712583004
नेपाल10425850187

‘फिकुरी काठमाडौंबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ डेस्टिनेसन हो’: अशोक सिलवाल (लाङटाङ दूत)

राजधानीबाट नजिकै रहेको नुवाकोटको किस्पाङ गाउँपालिकास्थित फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्यका रुपमा प्रचारमा आएको छ । लाङटाङ सद्भावना दूत समेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल बहुप्रचारित ट्रेकिङ गन्तव्य फिकुरीबाट भर्खरै काठमाडौं फर्केका छन् । टुर तथा ट्रेकिङ गाइड एवम प्रशिक्षक समेत रहेका सिलवालले आफ्नो पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’समेत फिकुरीमै विमोचन गराएका थिए । केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले फेडरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका सिलवालसँग फिकुरीका पर्यटकीय आयामबारे पाँच प्रश्न गरेका छन् ।

१. फिकुरी यात्राबाट भर्खरै फर्कनु भएको छ । शहरमा अहिले फिकुरीकै चर्चा छ । फिकुरीबारे केही बताइदिनु हुन्छ कि ?

तामाङ भाषामा फिकुरीको अर्थ धनी जंगल हो । यो एउटा पहाडी टुप्पोको नाम हो । यसलाई लेक पनि भन्ने गरिन्छ । यो ‘सेमी’ हिमालय हो । तर, यहाँबाट देखिने हिमश्रृंखला अलौकिक रहेको त्यहाँ पुग्ने आँखाहरुले अनुभुत गर्दछन् । हिउँ पर्ने याममा फिकुरीमा तपाईं लालीगुराँस फुल्ने बोटमा हिउँ फुलेको देख्न सक्नु हुन्छ । हिउँको खास मजा लिनका लागि त्यो एक अद्भुत यात्रा हुनसक्छ ।

२. यो कहाँ पर्छ ? ठ्याक्कै बताइदिनुस्न ।
फिकुरी काठमाडौंबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ डेस्टिनेसन पनि हो । यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त ट्रेक हो । यो नुवाकोटको उत्तरपश्चिममा पर्छ । तपाईं काठमाडौं छाडेको दोस्रो दिन नै टुप्पोमा पुग्न सक्नु हुन्छ । तर, तपाईं नुवाकोटका अरु ऐतिहासिक स्थलहरुको अवलोकन गर्दे आफ्नो ट्रेकिङ दिनहरुलाई लम्ब्याउन पनि सक्नु हुन्छ । यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम पनि हो । नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ, दुङमाङ हुँदै फिकुरी डाँडा पुगेर ताजी, सातदोबाटो हुँदै रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेलमा तामाङ, गुरुङ, नेवार र ब्राम्हण समुदायको जीवनसंस्कृति मात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन, अनेक प्रजातिका रुखविरुवा तथा चराचुरुङ्गी पनि अवलोकन गर्न सकिन्छ । ज्याउदाको ताल, नौघडेरी, किस्पाङ ताल, किस्पाङ गुम्बा, दुङमाङको भेडाफार्म, पैसा फाल्ने सुरुङ आदि यो ट्रेलका अरु आकर्षण हुन् । पहिले त्यही डाँडाको नामबाट फिकुरी गाउँ विकास समिती थियो । अहिले यो किस्पाङ गाउँपालिकामा पर्दछ । राजधानीबाट लगभग सय किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी डाँडाबाट रसुवाको तामाङ हेरिटेज, लाङटाङ, गोसाईकुन्ड र सिङ्ला पास हुँदै धादिङको रुबी भ्याली र गणेश हिमालको पदयात्रामा समेत जोडिन सकिन्छ । यहाँबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, गणेश हिमाल, अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखलासमेत देख्न सकिन्छ । रातको समयमा डाँडाबाट काठमाडौंको झिलिमली समेत देखिने स्थाानीय बुढापाका बताउँछन् ।

३. के त्यो ट्रेलको रुपमा विकास भइसकेको हो ?
फिकुरी ट्रेकको लागि अहिले नै जाने हो भने एक वा दुई रात ‘टेन्ट क्याम्पिङ’गर्नुपर्छ । त्यसैले त्यो ट्रेकलाई आम पदयात्रीहरुका लागि सहज र पहुँचयोग्य बनाउनका लागि फिकुरी डाँडा वा त्यसभन्दा अलि तल जंगलमा टि हाउस वा सट्टामा कम्युनिटी लज आवश्यक देखिन्छ । त्यसैगरी पदमार्गलाई व्यवस्थित गर्न जरुरी छ । त्यस्तै तल मोनगाउँ, कर्कले, काहुले आदि गाउँहरुमा व्यवसायिक होमस्टे संचालनको लागि स्थानीयलाई तालिम दिनुपर्ने देखिन्छ ।

४. यहाँको धार्मिक पक्षबारे पनि केही बताइदिनुस्न ।
फिकुरी महादेव त्यहाँका विशेष देवता हुन् । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लाग्ने गरेको छ । त्यस अवसरमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन् । त्यो अवसरमा त्यहाँ पुग्न सके इच्छाएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

५. तपाईंले त आफ्नो पछिल्लो पुस्तक श्रीलंका स्मृति पनि फिकुरी डाँडामै विमोचन गर्नुभयो । काठमाडौंको साहित्यक वृतबाट अलग्गिएर किन त्यहाँ पुस्तक विमोचन गर्नु भएको हो ?
यो कसैसँग अलग्गिएको होइन । बरु फिकुरीको हिउँमा किताब विमोचन गर्नु शहरलाई गाउँ र सागरलाई हिमालयसँग जोड्ने एउटा सिम्बोलिक प्रयास हो । त्यो किताब त्यहाँ विमोचन गर्नुको मेरो आशय थियो, ‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो । त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन् र संसारलाई हिमाली कोणबाट पनि बुझुन् ।’ त्यसरी म हिमालयलाई सागर र सागरलाई हिमालय जोड्ने प्रयासमा छु । त्यही सिलसिलामा कहिले श्रीलंका पुगें, कहिले थाइल्यान्ड र कहिले लाओस पुगें । भारतको कर्नाटक र तिब्बतको कैलाश पुगें । नेपालकै एभरेस्ट र पटकपटक लाङटाङ पुगें । भुगोलको गहिराई र उचाई पुगेर प्रकृति मात्र होइन, म मानिस र संस्कृतिबारे आफ्ना अनुभव र अनुभुति लिपिवद्ध गर्न चाहन्छु । पाठकलाई आफैंसँग उस्तै गरी तलदेखि माथि र माथिदेखि तलसम्म हिंडाउन चाहन्छु ।

सम्बन्धित समाचारहरु