विपत व्यवस्थापन गर्न सरकारको कस्तो छ तयारी ?

विपत व्यवस्थापन गर्न सरकारको कस्तो छ तयारी ?


काठमाडौं ।

विगत वर्ष जस्तै यो वर्ष पनि नेपालमा मनसुन भित्रिएसँगै वर्षा शुरु भएको छ । अघिल्ला वर्षमा केहि समय ढिला मनसुन प्रवेश गर्ने भए पनि यो वर्ष भने १२ जुन अर्थात जेठ ३० देखि नै मनसुन सुरू भइसकेको छ ।

यसरी सुरु भएको वर्षाले नेपालका विभिन्न ठाउँ जलमग्न तथा बाढी पहिरो जान थालेको छ । मनसुन भित्रिएसँगै अविरल वर्षाले उपत्यकाका विभिन्न स्थान डुवान हुने देखि पाल्पा, गुल्मी लगायतमा पहिरो गएका छन् ।

गत असार ९ गते लगातारको वर्षाका कारण गुल्मीमा ४२ घरका २०८ जना विस्थापित भएका छन् । पहिरोको जोखिम बढ्दै जान थालेपछि यस क्षेत्रका स्थानीयहरु विद्यालय, आफन्त र छिमेकीका घर तथा गोठमा आश्रय लिएर बसेका छन् भने यस क्षेत्रमा जाने रिडी–रुद्रवेणी–बामीटक्सार सडक अवरुद्ध समेत भएको थियो ।

त्यस्तै, पाल्पाको तानसेन सम्मोबारीमा पहिरोले ३ वटा जीप बगाउँदा ४ जनाको मुत्यु भएको थियो । यस वर्ष मनसुन सुरु भए देखि पर्वतमा ८ जना र पाल्पामा ४ जना गरी अहिलेसम्म १२ जनाको ज्यान गएको छ । पाल्पामा ३ वटा जीप बेपत्ता भएको तथा दुई वटा घर बगाएको छ भने विभिन्न स्थानमा डुवान भएको छ । गत वर्ष पहिरोमा परी ८९ जना र बाढीमा ८३ जनाको ज्यान गएको थियो । यसरी बाढी, पहिरो तथा डुवानले वर्षेनी धेरै धनजनको क्षति हुने गरेको छ ।

नेपालमा मनसुन सुरु भएपछि तराईमा बाढी, पहाडमा पहिरो र उपत्यकाका डुवान सुरु हुने गरेको छ । यसरी सुरु भएको मनसुनको अवधि चार महिनासम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मुलुकभर मनसुन सक्रिय हुनेछ । अधिकांश ठाउँमा वर्षा हुनेछ । अहिले पनि मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार रातिको समयमा अझै बढी पानी पर्ने सम्भावना छ । यो क्रम आगामी तीन, चार दिनसम्म जारी रहने भएकाले आवश्यक सावधानी अपनाउन उनले आम सर्वसाधारणमा अनुरोध गरेका छन् । विभागले तराई र चुरिया क्षेत्रमा बढी पानी पर्ने जनाइसकेको छ ।

‘यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्छ, खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्छ, त्यस क्षेत्रमा बस्ने समुदाय थप सतर्क हुनुपर्छ, मौसमविद् पौडेल भनेका छन् ।

यसपाली प्रि मनसुन सक्रिय भएकाले पहिले नै मुलुकभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुन सक्ने मौसमविद्को अनुमान छ । विपद् व्यवस्थापन विज्ञ डा कृष्ण देवकोटा यस्तो अवस्थामा अझै चनाखो हुनुपर्ने आवश्यकता औँल्याउँछन् । पर्वत लगायत केही स्थानमा बाढी पहिरोले मानवीय क्षति भइसकेको सन्दर्भमा तीनै तहको सरकारको समन्वयमा पूर्व तयारी र राहत उद्धारका लागि आवश्यक काम गर्नुपर्ने टड्कारो आवश्यकता छ ।

सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रणालीलाई लक्षित वर्गसम्म कसरी पुर्याउने भनेर गृहकार्य भएन भने त्यसको प्रभावकारिता नहुने विपद् व्यवस्थापन विज्ञको भनाइ रहेको छ ।

यसरी वर्षै पिच्छे वर्षाको समयमा लगातार वर्षा हुने र बाढी पहिरोको प्रकोप बढ्ने गरेको छ । तर यो वर्ष विश्वले अन्य प्रकोपसँगै अदृश्य जैविक शक्ति कोरोना भाइरसको संक्रमणले आतंकित बनाएको छ । यसबाट नेपाल पनि अछुतो रहेको छैन । नेपालमा पनि अहिलेसम्म ११ हजार ७ सय ५५ जनालाई सङक्रमण र २७ जनाले ज्यान गुमाएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन अहिलेसम्म जारी छ भने सरकार यसको रोकथाम र नियन्त्रण गर्न लागि परेको छ । तर पनि दिनप्रतिदिन संक्रमितको सङख्या बढिरहेको छ ।

सरकारले कोरोनाको माहामारी नियन्त्रण गर्न लागी रहेका बेलामा वर्षासँगै भित्रिएको मनसुनका कारणले बाढी, पहिरो तथा डुबान जस्ता प्राकृतिक प्रकोप जोखिमको न्युनिकरण तथा रोकथामको लागि कस्तो तयारी गरिरहेको छ भन्ने यतिबेला बहस सुरु भएको छ ।

सरकारले कोरोनासँगै मनसुनको अवधिमा प्राकृतिक प्रकोप बाढी, पहिरो तथा डुबानबाट ३० लाख मानिस प्रभावित हुने अनुमानका साथ विपत व्यवस्थापनको पुर्णरुपमा तयारी गरीरहेको राष्ट्रिय जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।

उनका अनुसार बाढी पहिरोमा परेकाको उद्धारका लागि आवश्यक पर्ने सामाग्री तथा पहिरो पन्छाउनको लागि सडक विभागसँग समन्वय गरेर डोजर समेत तयार गरी प्रदेश र स्थानिय तहलाई समेत तयारी अवस्थामा राखिएको छ । उनले भने , ‘पहाडमा पहिरो, तराईमा डुबानको विषयमा सबैसँग छलफल भइरहेको तथा केन्द्रमा भएका उद्धारका सामग्री स्थानिय तहहरुमा स्थान्तरण गरिरहेका छौं ।’

त्यस्तै, भारतसँगको सीमा क्षेत्रमा बनेका तटबन्धका कारण तराईमा वर्षेनी हुने डुवानका विषयमा इन्जिनियरहरूसँग छलफल गर्ने, पानीको निकास खोल्न लगाउने र क्षति हुन सक्ने ठाउँका बासिन्दाका लागि सुरक्षित स्थान खोज्ने गरी प्राथमिकतामा काम भइरहेको उनको भनाइ छ ।

विपत राहत कोषमा ३ अर्ब रकम व्यवस्था

प्राकृतिक प्रकोप बाढी, पहिरो तथा डुवान विपत व्यवस्थापनको लागि स्थानिय सरकार, प्रदेश सरकार तथा केन्द्रमा गरेर करिब ३ अर्ब रुपैयाँ रहेको अनुमान छ । प्राधिकरणका अनुसार राष्ट्रिय विपद् व्यवस्थापन कोषमा साढे एक अर्ब रुपैयाँ रहेको तथा जिल्ला तथा प्रदेश विपद् व्यवस्थापन कोषमा पनि रकम रहेको छ ।

Logo