चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सर्वपक्षीय छलफल

चाडपर्वलाई ‘सुरक्षित’ बनाउन सर्वपक्षीय छलफल


नजिकिँदा ठूला चाडपर्व दसैँ र तिहारमा हुनसक्ने सुरक्षा जोखिमका विषयमा काभ्रेपलाञ्चोकमा सर्वपक्षीय छलफल गरी पूर्वतयारी योजना बनाइएको छ । स्थानीय जनप्रतिनिधि, जिल्लास्थित प्रशासन, सुरक्षा निकाय, यातायात व्यवसायी तथा सरोकारवालासँगको छलफलले चाडपर्वलाई ‘सुरक्षित’ बनाउन तदारुकता देखाएका हुन् ।

चाडपर्वलक्षित सुरक्षा योजना तथा ट्राफिक व्यवस्थापनलगायतका विषयमा सर्वपक्षीय छलफल गरी शान्ति–सुरक्षा, आवश्यक उपभोग्य वस्तुको आपूर्ति र बिक्री–वितरण सहज बनाउने, कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र सवारी आवागमन सुरक्षित बनाउन स्थानीय तह, जनप्रतिनिधि र सुरक्षा समितिसँग सहकार्य, समन्वय र सूचना आदान–प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन्। 

बैठकमा स्थानीय जनप्रतिनिधिले नागरिकलाई सुरक्षित राख्ने प्रतिबद्धतासमेत जनाएका छन् । साथै उनीहरूले अन्य समयमा ज्येष्ठ नागरिक, विद्यार्थीका लागि सार्वजनिक यातायातमा हुँदै आएको सहुलियत चाडपर्वको बेलामा पनि हुनुपर्ने बताएका छन् ।

प्रजिअ शर्माका अनुसार बैठकले एकीकृतरूपमा बजार अनुगमन गर्ने, विद्युत्, टेलिफोन, इन्टरनेट, स्वास्थ्य सेवा, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवा नियमित राख्ने, तीनै तहका सरकारको समन्वयमा सडक सहज बनाउन अवरोध हटाउने, खाल्डाखुल्डी पुर्ने, सडक सुरक्षाबारे अभिमुखीकरणका साथै ट्राफिक सप्ताह सञ्चालन गर्ने, चाडपर्वको मौका छोपेर बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गर्ने र प्रचलित भाडादर टाँस्नेलगायत निर्णय भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले चाडपर्वको समयमा बजार अनुगमनलाई विशेष बनाइनुपर्ने बताए । पनौती नगरप्रमुख रामशरण भण्डारीले टिपरले निर्माण सामग्री ढुवानीका क्रममा पानी चुहाएर सडकमा जोखिम बढेको बताए । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले विपी तथा अरनिको राजमार्गमा सवारीको चाप हुने भएकाले सडक स्तरोन्नति गरी प्रयोगमा ल्याइनुपर्ने बताए ।

यस्तै नमोबुद्ध नगरप्रमुख कुनसाङ लामाले चाडपर्वको बेलामा नागरिकले दुःख खेप्न नपरोस् भन्ने उद्देश्यले विपी राजमार्गअन्तर्गत नमोबुद्धतर्फको सडकमा खाल्डाखुल्डी छ–छैन, अनुगमन गर्ने तथा ग्रामीण सडक सुधार गर्न सुरु गरिसकेको बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी र भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले सामान्य विषय व्यवस्थापन गर्न नसक्दा मानिसले ज्यान गुमाइरहेको जनाउँदै सडकमा विशेष ध्यान दिनुपर्ने तर्क राख्नुभएको थियो ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक भोला अर्यालले हरेक विषयका अनुगमनलाई नियमित गरी सेवा चुस्तदुरुस्त बनाउन सुझाए । नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईँले चाडपर्वमा चोरी, डकैती, दुव्र्यवहार, आत्महत्या नियन्त्रण हुने गरी सम्बन्धित नियकायले आ–आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए । नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रकाश रोक्का र राप्रपाका जिल्ला नेता पूर्णबहादुर विश्वकर्माले चाडपर्वमा सवारीले यात्रु बढी बोक्ने र बढी भाडा असुल्ने समस्या हरेक वर्ष हुँदै आएकाले नियन्त्रण गर्न अग्रह गरे ।

यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले चाडपर्व लक्षित सुरक्षा योजना बनिसकेकाले सुरक्षित महसुस गरेर चाडपर्व मनाउन अनुरोध गर्दै आत्महत्या, यौन दुव्र्यवहार र साइबर अपराध बढेको उल्लेख गर्दै काभ्रेपलाञ्चोकको स्थानीय तहसम्मै पुगेर अनुशिक्षण गरिने बताए । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घका महासचिव रवीन्द्र बैदार र गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापाले ग्रामीण सडकको अवस्था दयनीय भएकाले स्तरोन्नति गर्न स्थानीय तहसँग अनुरोध गरे ।

Logo