इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैनः परराष्ट्र मन्त्रालय

इजरायलबाट नेपालीको शव तत्काल ल्याउन सकिँदैनः परराष्ट्र मन्त्रालय


प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले पोस्टमार्टम गरेर शव बुझाउन बाँकी रहेकाले शव ल्याउन केही समय लाग्ने बताएकी हुन् । 

‘शव तत्काल ल्याउन सकिँदैन । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन ।  सबैले त्यही अनुसार बुझिदिनुपर्यो ।’ उनले भनिन् । 

द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज त्यसतर्फ जाँदैछ । मन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाइन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो । उक्त उडानमा नेपालीहरुको शव नल्याइने भएको हो । 

गत शनिबारदेखि जारी इजरायल र गाजाबीचको युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।

पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आक्रमणमा मृत्यु भएको छ। केही घाइते पनि छन् । 

Logo