‘आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो’ -उपप्रधानमन्त्री श्रेष्ठ

‘आर्थिक रुपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो’ -उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् । 

नेपाल पत्रकार महासङ्घ र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक–आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताएका हुन् । 

“मुलुकलाई आर्थिक तथा सामाजिक रुपमा समृद्ध बनाउन राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबै नेपालीलाई एकाकार बनाउनुपर्छ”, उनले भने, “सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचानलाई बचाउँदै लैजानुपर्छ । हाम्रो पहिचान एकता र सहिष्णुताको मौलिक संस्कार बन्दै आएको छ । त्यसलाई कहीँकतैबाट पनि कमजोर बनाउने काम हुनुहुँदैन ।”

नेपालमा भ्रष्टाचार महारोगका रुपमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्ने काममा सहयोग पुर्याउन सञ्चारकर्मीलाई आग्रह गरे । “नेजाले नेपालको विकट भेगमा कार्यरत सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग र सङ्गठित गर्दै ग्रामीण पत्रकारितामा सहयोग पुर्याइरहेको छ, मुलुकको सामाजिक–आर्थिक विकासमा पत्रकारिता क्षेत्रले सहयोग गर्नुपर्छ, लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका छ”, उनले भने ।     

Logo