अष्ट्रेलियामाथि साउथ अफ्रिकाको कीर्तिमानी जित

अष्ट्रेलियामाथि साउथ अफ्रिकाको कीर्तिमानी जित


आईसिसी एकदिवसीय विश्वकप क्रिकेटमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको छ। लखनउमा भएको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई जितका लागि ३ सय १२ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रएको अष्ट्रेलिया १ सय ७७ रनमा अलआउट भएको थियो।

विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो जित दर्ता गरेको छ। पहिलो खेलमा अफ्रिकी टिमले श्रीलंकालाई १ सय २ रनले हराएको थियो। अर्कोतर्फ अष्ट्रेलियाको यो दोस्रो पराजय हो। अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित बनेको थियो। विश्वकपको इतिहासमा रनको हिसाबले अष्ट्रेलियाको यो सबैभन्दा ठुलो हार हो।

लक्ष्य पछ्याएको अष्ट्रेलियाले सुरुआत निकै खराब रह्यो। उसले प्लेअफमा ३ विकेट गुमाएको थियो। पहिला मिचेल मार्सलाई मार्को जानसेनले टेम्बा बावुमाको हातबाट क्याच आउट गराएका थिए। 

त्यसपछि डेभिड वार्नर समेत १३ रनमा पोविलियन फर्किएका थिए। स्टिभ स्मिथ समेत १९ रन बनाएर कागिसो रबाडाको बलमा एलबीडब्लू आउट भएका थिए।

अष्ट्रेलियाको विकेट पतन भने रोकिएन। जोश इङ्लिस र मार्कस स्टोइनिसलाई कगिसो रबाडाले आउट गरेका थिए। ७० रनमा ६ विकेट गुमाएको अष्ट्रेलियालाई मार्नस लाबुसेन र मिचेल स्टार्कले मिलेर ६९ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई १ सय ५० रनको नजिक पुर्याएका थिए। 

मार्को जानसनले मिचेल स्टार्कलाई आउट गरेर यो साझेदारी तोडेका थिए। स्टार्कले ३ चौकाको मदतले ५१ बलमा २७ रन बनाएका थिए। स्टार्कपछि मार्नस लाबुसेन समेत महाराजको बलमा आउट भएका थिए। 

त्यसपछि अफ्रिकी टिमको जित सहज बनेको थियो। अष्ट्रेलियाका लाबुसेनले सर्वाधिक ४६ रन बनाए । साउथ अफ्रिकाका रबाडाले तीन विकेट लिएका थिए। जोनसन, तबरेज र महाराजले समान दुई दुई विकेट लिएका थिए। पहिला ब्याटिङ गरेको अफ्रिकी टिमले ७ विकेटको क्षतीमा ३ सय ११ रन बनाएको थियो।

Logo