चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छः प्रधानमन्त्री

चाडपर्वमा सडकमा कोही पनि बस्नुपर्दैन भन्ने सुन्दा सन्तोष मिलेको छः प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मेची महाकाली उद्धार अभियानमा सरिक आश्रमका अभियन्ताहरुलाई विदाई गर्दै प्रधानमन्त्री दाहालले यो अभियानले आफूलाई हर्षित तुल्याएको र चाडपर्वका बेलामा अब असहायलाई सडकबाट उद्धार गरी आश्रय दिनु महत्वपूर्ण विषय भएको बताएका हुन् ।

राजनीतिक दबाब र तनावपूर्ण चुनौती मात्रै नभइ समाजसेवा झन बढी महत्वपूर्ण रहेको अनुभूति गर्ने अवसर यो कार्यक्रमले आफूलाई दिएको उल्लेख गर्दै उनले आश्रमको महत्व थाहा पाएसँगै सरकारका तर्फबाट सहयोग गर्ने बताए ।

उनले भने, “आउँदो दिनमा राज्यकोतर्फबाट पनि अझै धेरै जिम्मेवारी लिनुपर्छ भन्ने मैले ठानेको छु, नेपालमा मानवसेवा र सामाजिक सेवाका निम्ति संकल्पका साथ लाग्ने व्यक्तिको कमी छैन भन्ने कुरा आश्रमले स्थापित गरेको छ, बधाई दिन चाहन्छु ।” उनले मेची महाकाली यात्रा पूर्ण सफलताको शुभकामना पनि दिए । 

कूल ३८ दिनसम्ममा तीन सयभन्दा बढी सडक आश्रित मानवलाई उद्धार गर्ने योजना छ । यसअघि पनि आश्रमले मेची महाकाली अभियान चलाइसकेको छ । आश्रमले विसं २०८२ सम्म देशलाई नै सडक मानव मुक्त बनाउने सङ्कल्प लिएको छ । 

Skip This
Logo