कोशी प्रदेशबारे रवि लामिछानेकाे टिप्पणी- आगामी निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्नुस्

कोशी प्रदेशबारे रवि लामिछानेकाे टिप्पणी- आगामी निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्नुस्


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी प्रदेशमा "महागठवन्धन"ले सार्थकता पाएको टिप्पणी गरेका छन् । 

शनिबार कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि सभापति लामिछानेले भनेका छन्, 'गत उप-निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई  हराउन  ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको  "महागठवन्धन"ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्।  र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरि,सकेसम्म चुनाव चिन्ह समेत एउटै  हुने गरि  "महासहमति" पनि गर्नु होला। ढिला नगरी  "महागठबन्धनवादी मोर्चा"को घोषणा सभा बारेपनि  सुन्न पाइयोस् ।'

उनले थपेका छन्, 'उदेश्य एउटै, कार्यशैली एउटै,चरित्र एउटै, गन्तव्य एउटै  भएपछि, सटर चाहिँ किन बेग्लाबेग्लै ?' 

शनिबार बिहान ४७ जना सांसदहरूको हस्ताक्षर सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङबोलाई कोशीको मुख्यमन्त्री बनाउने सहमति गरेको थियो। तर ‍मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसको शेखर कोइराला पक्षका ८ गरी ४७ जना सांसहरूले हस्ताक्षर गरेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । 

Logo