कास्टिङ कोशीमा भयो अब फिल्म प्रर्दशन हुन्छः महेश बस्नेत

कास्टिङ कोशीमा भयो अब फिल्म प्रर्दशन हुन्छः महेश बस्नेत


नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्यसंगै नेपाली राजनीतिमा नयाँ कास्टिङ सुरुवात भएको तर्क गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित अन्तर्क्रियामा नेता बस्नेतले कोशी प्रदेशबाट सुरु भएको नयाँ राजनीतिक कोर्ष अब संघीय सरकारमा समेत देखिने दाबी गरे । उनले भने–‘कोशी प्रदेशको कांग्रेसको विद्रोह र एमालेसँगको सहकार्य त सुरुवात मात्रै हो । यसको कास्टिङ हो, यसको फिल्महरु प्रदर्शन हुँदैछन् । मलाई लाग्छ चाँडै नै फिल्महरु प्रदर्शन हुनेछन् र ती फिल्मका प्रभावहरु संघीय सरकारमा पनि पर्नेछ ।’

नेपालको राजनीतिलाई नयाँ दिशामा मोड्ने ढंगले कोशी प्रदेशमा केदार कार्कीको नेतृत्वमा सरकार बनेको सुनाएका उनले भने ‘कोशीमा एमाले जिम्मेवार बन्नुपर्छ भन्ने ढंगले हामीले अभिव्यक्ति दिएका थियौं । कोशी प्रदेशको सरकार बन्ने सन्दर्भमा एमाले अधिकतम लचिलो बन्नुपर्छ भनेर मैले पनि भनेको थिएँ ।’ 

उनले आफूले कोशी प्रदेशको स्थायित्वको लागि कांग्रेसले संस्थागत रुपमा निर्णय गरेर आउँछ भने पनि समर्थन गर्नुपर्छ भनेर भनेको बताए । उनले भने,‘कोशी प्रदेशको स्थायित्वको लागि मैले सबै विकल्पमा जानुपर्छ भनेको थिएँ, कतिसम्म भने ८ जना सांसद लिएर आउनेलाई समर्थन गर्नुपर्छ भनेको थिएँ ।’

अर्को प्रसंगमा उनले वर्तमान सरकारले भ्रष्टाचारलाई नै प्रश्रय दिएको आरोप लगाए । त्यस्तै सामाजिक, धार्मिक सहिष्णुता विथोल्ने प्रयास भइरहेको भन्दै उनले भने ‘आज किन कोशी प्रदेशमा मन्दिरको अघि चर्च बन्छ ? वडाअध्यक्षले चर्च बन्ने कुराको विरोध गर्दा मेयर हर्क साम्पाङले किन चर्च बनाउनेहरुको हौसला प्रदान गरिरहेका छन् ? मंगोल, लिम्बुवान र दुर्गा प्रसाईको नाममा किन लोकतन्त्रविरोधी काम भैरहेको छ । ?

उनले आफूहरुले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा धुप बालेर बस्ने कुरा नहुने टिप्पणी गर्दै, झापामा आफूहरुको कार्यक्रम विथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईका समथर्कहरु मिलेर आएको दाबी गरे । उनले भने,‘पहिचानवादी साथीहरु र दुर्गा प्रसाईसँग रहेका साथीहरु मिलेर आउनुभएको छ। उनीहरु एक ठाउँमा छन् । के हामीलाई प्रतिरोधमा जान बाध्यता बनाएको हो त ? के हामीसँग प्रतिरोध नै खोजेको हो त ? युवा संघ झापाले पहिचानवादी र दुर्गा प्रसाईका कार्यक्रम गर्न नदिने भनेको छ । एमाले र युवा संघ सैद्धान्तिक रुपमा ठीक ठाउँमा छ । एमालेका कार्यकर्ता सशक्त छन् । त्यही भएर यिनीहरुको प्रहार हामीमाथि भएको छ ।’ 

Logo