युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’को विजेता

युक्ति विमली बनिन् ‘एनआरएन द सिंगर’को विजेता


खोजी उत्कृष्ट प्रवासी प्रतिभा भन्ने मुल उद्देश्यका साथ आयोजना भएको पहिलो संस्करणको एनआरएन द सिंगरको पहिलो विजेता युकेकी युक्ती विमली बनेकी छिन् । 

ग्रान्ड फिनालेका लागि शिर्ष ५ मा स्थान बनाएकी युक्ति मात्रै काठमाडौं आउन सकेकी थिइनन् । खल्ती एपमार्फत गरिएको प्रत्यक्ष भोटमार्फत उनले सर्वाधिक भोट पाएर पहिलो संस्करणको उपाधि जित्न सफल भइन् । 

भर्चुअल माध्यमबाट ग्रान्ड फिनालेमा उनले गोठालो जाँदा लाएको माया बोलको गीत प्रस्तुत गरेकी थिइन् । उनी कार्यक्रममा उपस्थित नभएपछि युरोप संयोजक सन्तोष भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीबाट ग्रहण गरिदिएका थिए ।

प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा फस्ट रनरअप जापानका कर्मादोङ तामाङ बने । उनले नगद २ लाख र ट्रफी प्राप्त गरे । कर्मादोङले ग्रान्ड फिनालेमा कर्मादोङ तामाङले तातोपानी बजार बोलको तामाङसेलो र आफैले सिर्जना गरेको उत्कृष्ट गीत प्रस्तुतत गरेका थिए ।  

यसैगरी सेकेन्ड रनरअपको रुपमा सुवासचन्द्र पुनमगर रहे । पोर्चुगलका पुनमगरले सुवासचन्द्र पुन मगरले तिम्रो न्यास्रो आउँछ निरमाया  र फूलको थुंगा हौकी भन्ने बोलको गीत प्रस्तुत गरेका थिए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।  यस्तै, ग्रान्ड फिनालेमा विष्णु क्षत्री र गुनामगर निसुले पनि प्रतिस्पर्धा गरेका थिए ।
एनआरएन द सिंगरमा ३७ देशबाट अडिसनका लागि वेबसाइट, इमेल र ह्वाट्सएपबाट ३०० बढीको आवदेन परेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटना तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले  नेपाल र नेपालीसँग जोडिने रचनात्मक कार्यक्रम गरेको भन्दै प्रशंसा व्यक्त गरे । पर्यटनको पहिलो आधार नै संस्कृति भएको बताउँदै संसारको पर्यटनको केन्द्र रहेको बताए । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै यसबाट नेपालले लाभ लिनका लागि एनआरएनले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अहिलेको अवस्थामा नेपालमा केही निराशाको सञ्चार भएको बताउँदै हाम्रा संस्कृति र सम्पदाबाट पर्यटनको विकास गर्दै सकारात्मक कुराको सञ्चार गर्न आवश्यक रहेको बताए ।

गीत संगीत एकताको  सूत्रमा बाध्ने माध्यम भएकाले हामीले यसको संरक्षण गर्नका लागि सरकारले काम गरिरहेको बताए । पूर्व अध्यक्ष भवन भट्टले भाषा र साहित्यले सवैलाई जोड्ने भएकाले यसको आवश्यकता रहेको बताए ।

कार्यक्रममा कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालले गर्व गर्नु पर्ने विषय मध्य यहाँको भाषा र संस्कृति रहेको बताउँदै भाषा र संस्कृति जोगाउने आफूहरुको दायीत्व रहेको बताए । उनले विदेशमा रहेका आफूहरुले सन्ततीलाई नेपाली भाषा र संस्कृतिका बारेमा सिकाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको पनि बताए ।

एनआरएन अध्यक्ष रवीना थापाले विदेशमा बस्ने नेपालीहरुको भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले मद्दत पुग्ने बताइन् । भाषा र संस्कृति जोगाउनका लागि हामी सबै मिलेर विदेशमा बसेर छोरा छोरीलाई नेपालसँग जोड्नका लागि यस्ता कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउनेमा जोड दिइन् ।

एनआरएनएका पूर्व अध्यक्ष जीवा लामछिानेले संस्कृति तथा सम्पदा विभागले विदेशमा रहेका नेपालीहरुलाई गीत संगीतमार्फत जोड्ने प्रयास गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरु आयोजना हुनुपर्नेमा जोड दिए ।

एनआरएनका पूर्व अन्तर्राष्ट्रिय संयोजक भीम उदासले यो कार्यक्रमको कनसेप्ट बनाउनेहरु नै बधाईको पात्र रहको बताए । नेपालभित्र एनआरन हाउसहोल्ड नाम भइसकेको बताउँदै एनआरएनका कारण देशको समृद्धि र विकास हुने बताए । देश भित्र र बाहिर बसेका सबै नेपालीहरु मिलेर देशलाई समृद्धि बनाउन लाग्नु पर्नेमा जोड पनि दिए ।

एनआरएन द सिंगरका प्रमुख निर्णायक शम्भु राईले संस्कृति विनाको समाजा र संस्कृति विनाको राजनीति परिकल्पना गर्न नसकिने बताए । यो कार्यक्रमले ऐतिहासिक काम गरेको बताउँदै आगामी दिनमा पनि नेपाली पहिचान दिलाउनका लागि सधै साथ रहने बताए ।

कार्यक्रममा वरिष्ठ संगीतकार आनन्द कार्कीले आफूहरुले नेपाली गीत संगीतलाई विदेशमा पुर्याउन अभियान चलाइरहेका बेला एनआरएन द सिंगर कार्यक्रमले राम्रो काम गरेको बताए ।

गोविन्द गौतमले कार्यक्रम समापन गर्दै प्रवासमा रहेका दोस्रो पुस्ताका नेपालीलाई कलाका माध्यमबाट नेपालसँग जोड्ने उद्देश्यले एनआरएनको संस्कृति तथा सम्पदा समितिले यो कार्यक्रम गरेको बताए । उनले २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।

एनआरएन द सिंगरको कार्यक्रम पार्टनरको रुपमा युनिटेक रहेको थियो भने सहयोगीको रुपमा वी ड्रिम रियल स्टेट र हाथफोर्ड एडुकेसन मार्केटेडबाइको रुपमा सनबी होल्डिङ, इभेन्ट पार्टनरको रुपमा रोविन प्रसाद सेरचन र ब्रोडकास्टिङ पार्टनरको रुपमा फोके र भोटिङ पार्टनरको रुपमा खल्ती एप रहेको थियो ।

Logo