सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैनः रक्षामन्त्री खड्का

सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम गर्दैनः रक्षामन्त्री खड्का


उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने दाबी गरेका छन् ।  

सोमबार काठमाडौैंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने विषयलाई जोडेर भ्रम छर्ने काम भएको भन्दै नेपाली सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने बताएका हुन् । 

उनले भने, ‘आज पनि नियमावलीलाई यताउता पार्न खोजियो भन्ने गलत झुटा कुरा प्रचार भएको छ । नेपालको प्रधानसेनापति हुन एउटा निश्चित मापदण्ड छ । निश्चित तालिमहरु प्राप्त गरेको अनुभवको अनिवार्य आवश्यकता छ । ती सबै आधार र अधिकारहरु भन्दा दायाबायाँ सरकार जाने रक्षा मन्त्रलालय जाने म जाने कल्पना पनि गर्न सक्दिन ।’ 

रक्षामन्त्री खड्काले उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्थाअनुसार मात्रै सहायक रथी अधिकारीलाई तीन वर्ष पदावधि थपिएको प्रष्ट पारे । 

उनले भने, ‘उमेर र अवधिले भ्याउँदा एक पटकलाई तीन वर्ष पदावधि थप्ने सैनिक, ऐन, नियमको व्यवस्था छ । त्यसका लागि सेनाको एउटा बोर्ड छ । त्यो बोर्डले सम्बन्धित अधिकृतको आफ्नो कार्यकालको भूमिका प्रभावकारिताको मूल्याङ्कन गरी बढुवाको लागि सिफारिस गर्छ । अनि प्रधानसेनापतिले त्यो सिफारिसको आधारमा रक्षा मन्त्रालयमा सिफारिस पठाउनु हुन्छ, रक्षा मन्त्रालयले परीक्षण गर्छ, त्यसपछि मन्त्रीपरिषद्मा गएर एक पटकलाई पदावधि थपिने प्रचलन अनुसार यमप्रसाद अधिकारीको पनि अहिले तीन वर्षको लागि म्याद थप गरेको हो ।’

Logo