४५ करोड लगानीमा सौराहामा खुल्यो सिद्धार्थ भिलासा बनबास रिसोर्ट, यस्ता छन् सुविधा

४५ करोड लगानीमा सौराहामा खुल्यो सिद्धार्थ भिलासा बनबास रिसोर्ट, यस्ता छन् सुविधा


सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनमा ल्याउने भएको छ । खैरहनी नगरपालिका–१३ हर्नरी भन्ने ठाउँमा बनेको रिसोर्ट आइतबारबाट सञ्चालनमा आएको हो। ‘भिलासा’ सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । 

वरिपरी जङ्गलले घेरिएको रिसोर्टभित्र पनि विभिन्न जातका रुख बिरुवाले निकुञ्जको झल्को दिने गर्दछ। रिसोर्ट छिर्ने जो कोहीलाई निकुञ्जभित्र पुगेको आभाष हुन्छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापना भन्दा पहिला खुलेको टाइगर टप्ससहित सात वटा होटल विसं २०६८मा बन्द भएपछि खर्चालु पर्यटक यहाँ आउने क्रम घटेकामा  यस होटलले त्यस्ता पर्यटकलाई भित्र्याउन समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ। 

बनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाका अनुसार रिसोर्ट निर्माणमा ४५ करोड रुपैयाँ खर्च भएको छ। रिसोर्ट स्थापनासँगै देश तथा विदेशबाट बुकिङ गर्नेक्रम सुरू भएको बनबास चितवन प्रालिका अध्यक्ष बासु ढुंगानाले जानकारी दिए । 

तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फैलिएको यो रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिक छ। यहाँ २४ भिल्ला र दुई स्वीटसहित ३४ सुविधायुक्त कोठा छन्। भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन्। सम्पूर्ण भिल्लाको नामाकरण चाराको नामबाट राखिएको छ। रिसोर्ट परिसरमा ठूलो ताल र स्विमिङ पुल पनि निर्माण गरिएको छ। 

रिसोर्टमा २ वटा सभा गोष्ठी हल, नजिकै रहेका सामुदायिक वनमा रमाउने जनावरको दृश्यावलोकन गर्न सकिने रेष्टुरेन्ट छन् । यहाँ बस्न विदेशी पर्यटकले दुई रात, तीन दिनको प्याकेजका लागि २५० देखि चार सय डलरसम्म तिर्नुपर्छ। यो रकमबाट पर्यटकले हात्ती सफारीबाहेकका प्याकेज प्राप्त गर्न सक्छन्।  आन्तरिक पर्यटक एक जोडीलाई दस हजार रुपैयाँमा एक रात बसाइ र ब्रेकफास्टको सुविधा छ।

होटल, रेष्टुरेन्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्स्टिच्युटलगायतका व्यवसायको सञ्जाल तयार पारेर सिद्धार्थ ग्रुपले ३० शाखामार्फत सेवा प्रदान गर्दै आएको छ, जसमा  २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । यसअघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको थियो ।

Skip This
Logo