तर कोशीमा धेरै पानी बगिसकेको छ

तर कोशीमा धेरै पानी बगिसकेको छ


कोशी प्रदेशको मुख्यमन्त्री निर्वाचनले सत्ता गठबन्धनमा हलचल ल्याएको छ । यसले सत्ता गठबन्धन मात्र होइन राष्ट्रिय राजनीतिमा पनि जबरजस्त बहस सुरु भएको छ । सत्ताको एक मुख्य घटक नेपाली कांग्रेसभित्र भने पार्टी अनुशासन उल्लंघन भएको भनेर चर्को विवाद चलिरहेको देखिन्छ। त्यहाँभित्र पनि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका आआफ्नै तर्कहरु अभिव्यक्त भैरहेका छन् । 

सभापति देउवा समूहको तर्क छ, नेता कोइरालाले पार्टी अनुशासनलाई चुनौति दिँदै प्रमुख प्रतिपक्षसँग मिलेर आफ्नाे समूहका उम्मेदवारलाई प्रदेश मुख्यमन्त्री बनाउन सहकार्य गरे। यो आपत्तिजनक कार्य हो तसर्थ कोइराला पार्टी नीति विपरित उभिएको प्रष्ट भएकाले सभापतिले यस बिषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भन्ने उनीहरुको तर्क छ। 

नेता कोइराला समूह भने कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसकै उम्मेदवार हुन  जरुरी थियो तसर्थ सत्ता गठबन्धनका शीर्ष नेता अलमलमा बसिरहेकाले प्रमुख प्रतिपक्षसँग सहकार्य गरिएको हो। 

नेपाली कांग्रेसमा सभापति देउवा र नेता कोइराला समूहका आआफ्ना तर्कहरुमा वहस चलिरहे पनि दुवै नेताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई साक्षी राखेर गठबन्धन टुट्न नदिने प्रतिवध्दता सार्वजनिक गर्दै कार्कीलाई समर्थन गरिसकेका छन्। नेपाली कांग्रेसको आन्तरिक बिषयमा माओवादी अध्यक्षलाई साक्षी राखेको कुरा पनि कांग्रेस र गैरकांग्रेस वृत्तमा बहसमा छ। सत्तारुढ दलका नेताको हैसियतमा प्रधानमन्त्री बनेका दाहाल प्राविधिक रुपमा कांग्रेसका नेताहरुको सहमतिका साक्षी बसेको देखिन्छ। तर यसलाई सहज रुपमा ग्रहण गरिएको देखिँदैन। 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको भनाई यस्तो छ, ‘कोशी ढुक्कै कांग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन। सबै प्रदेशमा आलोपालो हुने हो, परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ। गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो–नराम्रो सबै ब्यहोर्नुपर्छ, एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ।

यहाँ उल्लेखनीय पक्ष के हो भने वर्तमान गठबन्धनको सहकार्य टुटाउन चाहिरहेको प्रमुख प्रतिपक्ष एमालेले कोशीबाट प्रत्यक्ष क्रियाशीलता देखाएको छ। नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरिदिएपछि सत्ताका प्रमुख घटकवीच विश्वासको संकट उत्पन्न गराउन सकिन्छ भन्ने उसको बुझाई हाललाई सफल भएको देखिँदैन। वालुवाटारको एक बुँदे सहमतिले त्यो सन्देश दिएको छ।

सत्ता गठबन्धन बचाउन नेपाली कांग्रेसले पार्टी अनुशासनको बिषयलाई वास्तै नगरेको चर्चा पनि गरिएको छ। साथै वर्तमान गठबन्धन निर्माण हुँदा आलोपालो प्रधानमन्त्री हुने तीन नेताको सहमति समेत दुर्घटनामा पर्ने खतरा देखिएपछि सभापति देउवाले नेता कोइरालाको राजनीतिक कदमलाई मुटु मिचेर समर्थन गरेको चर्चा छ। यो गठबन्धन निर्माण हुँदाको समयमा तीन शीर्षस्थ नेताहरु पुष्पकमल दाहाल, माधव कुमार नेपाल र शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको जगजाहेर छ।

तीन नेताको यो योजना राम्रैसँग बुझेका कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्री निर्वाचनमा आफ्नो उम्मेदवार उभ्याएका थिए भन्ने कुरा पनि स्पष्ट भैसकेको छ। दाहाल, नेपाल र देउवाको आन्तरिक सहमति बुझेको एमाले कोइरालालाई निःशर्त सहयोग गरेर शान्त तलाउमा तरंग उत्पन्न गर्न चाहन्थ्यो भन्ने कुरा पनि प्रकाशमा आई नै सकेको छ। 

केदार कार्कीको उम्मेदवारीबाट उत्पन्न त्रिपक्षीय विवाद र तनाव कोशीमा सरकार गठनको कार्य सुरु भएपछि तत्काललाई थामिदै गएको देखिन्छ। तर यसले बिजारोपण गरेर छाडेको केही बिषय भने भविष्यमा अंकुरण हुने निश्चित छ, जस्तो कि नेपाली कांग्रेसका आगामी वैठक, भेला र सांगठनिक जमघटमा कोइरालामाथि पार्टी नीति उल्लंघन गरेको भनेर प्रश्न उठाउने सम्भावना रहन्छ। त्यसैगरी पार्टी नेतृत्वले नीतिगत निर्णय गर्न विलम्व गरेकाले कोशीमा प्रमुख प्रतिपक्षले पनि रणनीतिक चाल चल्ने अवसर पाएको तर्क पनि गरिएला। साथै सभापति देउवाले स्पष्ट निर्णय नगरिदिनाले नै पार्टीको आन्तरिक मामिलामा माओवादी अध्यक्षले प्रवेश गर्ने मौका पाएको तर्क पनि उठ्ने नै छ। 

प्रदेश र केन्द्रीय राजनीतिमा मुख्यमन्त्री निर्वाचनले पारेको प्रभावको असर जे जस्तो देखिए पनि प्रमुख प्रतिपक्ष एमालेको समर्थनमा सत्तारुढ नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्की मुख्यमन्त्री चुनिएर शपथ पनि लिईसकेका छन्। कार्कीले सहयोगी दल एमाले र आफ्नो दलका एकेक सदस्यलाई मन्त्री पनि नियुक्त गरिसकेका छन्। अब उनले आफ्नो नेतृत्वको सरकारलाई पूर्णता दिँदैजाँदा गठबन्धनको सहकार्यलाई कसरी सन्तुलनमा राख्लान्, त्यो भने भविष्यमा स्पष्ट हुँदै जाने छ। 

कार्की एमालेका ३९ र कोइराला पक्षका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। अहिलेलाई भने गठबन्धनमाथि आईपरेको चुनौति, नेपाली कांग्रेसभित्रको समूहगत खटपटी र गठबन्धनको यात्रामा धराप थाप्ने प्रमुख प्रतिपक्षको रणनीतिले विश्राम लिएको छ। मुख्यमन्त्रीको चयन सकिँदा सप्तकोशीमा धेरै पानी बगिसकेको छ। यसको तरंग कोशी पश्चिमका बाग्मती, गण्डकी, कर्णाली र महाकालीसम्म पुग्छ कि पुग्दैन त्यो भने हेर्न बाँकी नै छ।

Logo