बालबालिकाहरुको मुद्दा नसमेटिएकोमा चिन्ता

बालबालिकाहरुको मुद्दा नसमेटिएकोमा चिन्ता


भोलिका कर्णधार आजका बालबालिकाको मुद्दाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन्।

चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क इडिटर)सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्दामा रहेको बताएका हुन्। 

यसमा पनि अधिकांस समाचार औपचारिक कार्यक्रमको मात्रै भएको भन्दै उनीहरुले बालबालिका सम्वन्धी खोज, अनुसन्धानमूलक समाचार प्रकाशित, प्रशारित गर्नुपर्नेमा जोड दिए। साथै उनीहरुले ससाना बालबालिकाहरुको मुद्दामा सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्दा विशेष संवेदनशिलता अपनाउनुपर्नेमा पनि जोड दिए। 

कार्यक्रममा डा. कुन्दन अर्यालले आएका चारदेखि ६ प्रतिशत बालबालिका सम्वन्धीको समाचारमा पनि ७८ प्रतिशत समाचार बालबालिकामाथिको दुर्व्यवहारका समाचारहरु रहने गरेको तथ्यांक प्रस्तुत गरे। यसले भोलिका बालबालिकाहरुलाई नकारात्मक सन्देश प्रवाह भइरहेको उनको भनाई थियो।

कार्यक्रममा बाहखरीका विशेष सम्पादक हरिबहादुर थापाले बालिका बलात्कृत भनेर छापिने समाचारमा पीडकको ठेगाना खोलिदिएपछि पीडित पनि त्यही गाउँकै नै हुने भएर नाम नखुलाए पनि पीडित थप पीडित हुने सुनाए। यसकारण बालबालिका सम्वन्धीका समाचारको लेखन, सम्पादनमा विशेष गम्भीर्यता अपाउनुपर्ने आवश्यकता उनले औँल्याए। 

कार्यक्रममा सम्पादक थापा र डा अर्यालले दुईवटा प्रस्तुतिहरु दिएका थिए। थापाले बालबालिकाबारेका मुद्दामा हाल चलिरहेको सम्पादन र रिर्पाेटिङको संवेदनशिलता विषयमा प्रस्तुति दिएका थिए। उनको प्रस्तुतिमाथि डा.अर्यालले टिप्पणी गरेका थिए। 

कार्यक्रममा आयोजक संस्थाका निर्देशक मोहन दंगाल, पत्रकारहरु जनक नेपाल, जुनारबाबु बस्नेत, गंगा विसी, प्रकाश सिलवाल, कृष्ण किसी, दीपेन्द्र श्रेष्ठलगायतका आ-आफ्ना अनुभवहरु सुनाएका थिए। कार्यक्रममा विभिन्न मिडियाका डेस्क इडिटर तथा इडिटरहरु सहभागी रहेका थिए।   

Logo