पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल


युरोपेली च्याम्पियनसिप (युरो कप) छनोटमा सोमबार पोर्चुगलले फराकिलो अन्तरको जित दर्ता गरेको छ। पोर्चुगलले बोस्निया हर्जेगोभिनालाई ५-० ले पराजित गरेको हो।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोको २ गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजको समान १ गोल रह्यो। सबै गोल पहिलो हाफमा भएका थिए।

पोर्चुगलको खेलमा अग्रता पाचौं मिनेटमा आएको थियो। रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेलमा अग्रता बनाएका थिए। रोनाल्डोले नै २०औं मिनेटमा अग्रता दोब्बर बनाए। फेलिक्सको पासमा उनले गरेको गोल सुरुमा अफसाइड दिइएको थियो। तर भिएआरले रेफ्रीको निर्णय उल्टाएपछि अन्तर बढ्यो ।

त्यसको ५ मिनेट पछि फर्नान्डेजले गोल थपे। उनले इनासियोको लामो पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए। ३२औं मिनेटमा क्यान्सेलोले चौथो गोल गरे। उनले बक्सको छेउ बाट गरेको सटिक प्रहारले जाली चुमेको थियो।

फेलिक्सले ४१औं मिनेटमा पोर्चुगलको अग्रता ५ गोलको बनाए। उनले फर्नान्डेजको पासमा गोल गरेका थियो। उनको गोल रेफ्रीले सुरुमा अफसाइड दिएपनि पछि भिएआरको मद्दतमा निर्भणय परिवर्तन भएको थियो।

युरो कपमा छनोट भइसकेको पोर्चुगलको ८ खेलमा २४ अंक छ। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान ८ खेलमा १६ अंक छ। पराजित बोस्निया ९ अंक सहित पाँचौं स्थानमा छ। सोही समूहमा आइसल्याण्डले लिकटेन्स्टाइन लाई ४-० ले पराजित गर्दा स्लोभाकियाले लक्जेम्वर्ग लाई १-० ले हराएको थियो।

यस्तै समूह बी का खेल हरुमा आयरल्यान्डले गिब्राल्टार माथि ४-० को जित निकाल्दा नेदरल्याण्ड्सले ग्रिस माथि १-० को जित निकालेको छ।नेदरल्याण्ड्सको जितमा कप्तान भर्जिल भान डाइकले खेलको अन्त्यमा अतिरिक्त समयमा पेनाल्टी मार्फत गोल गर्दै जित निकालेका हुन्।

यस समूहमा फ्रान्सको ६ खेलमा १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको ६ खेलमा १२ अंक छ। तेस्रो स्थानमा रहेको ग्रिसको पनि सात खेलमा समान १३ अंक छ। समूहको शीर्ष दुई टोली अर्को वर्ष जर्मनीमा हुने युरो कपका लागि छनोट हुने छन्।

Logo