ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ, २९९ रुपैयाँमै सामग्री हेर्न सकिने

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ, २९९ रुपैयाँमै सामग्री हेर्न सकिने


कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।

‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।

‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । यस्तै, सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ पनि हेर्न पाउनेछन् । सर्ट फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि एपमा उपलब्ध छन् ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ओलीले शुभकामना दिदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने–‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले, यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरुलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चलेपनि जिन्दगी बन्छ । तर, यहाँ दीपकराज गिरी जस्ता कलाकारहरुलाई अझै भोली के हुने हो भन्ने चिन्ता छ ।’ 

उनले यस्तो परिस्थितीको बिचमा सुरु भएको ‘कान्तिपुर सिनेमाज्’ले विश्वभर रहेका नेपालीहरुको मन जित्न सक्ने भन्दै शुभकामना दिएका थिए । 

साे अवसरमा कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए ।

उनले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ ।’ उनले अगाडि भने–‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’ उनले, यस्तै प्रकारको प्लेटफर्मको विकास आफूहरुले गर्न चाहेको पनि बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।

नेपाली सिनेमाको ओटीटी रिलिज गर्न पनि मेकर तयार हुने अवस्था सिर्जना गर्न ‘कान्तिपुर सिनेमाज’ सफल हुने उनको धारणा थियो । यसले विश्वभरका नेपालीलाई जोड्ने माध्यमको काम गर्ने भुवनको भनाई थियो ।

कार्यक्रममा बोल्दै हास्य कलाकार दीपकराज गिरीले ओटीटी प्लेटफर्म संचालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे । सानो बजार रहेकाले कन्टेन्टको आवश्यकता हुने र नयाँ सिनेमा पाउनु र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि मुख्य चुनौती भएको गिरीको भनाई थियो ।

यस्तै, कार्यक्रममा बोल्दै टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरीले ओटीटीबाट अन्य मुलुकका नागरिकहरुलाई पनि नेपाली बिषयवस्तुमा आकर्षित गर्न सकिने बताए । यसका लागि सब–टाइटल राखेको खण्डमा राम्रा सामाग्रीले नेपालीको मात्र नभएर विदेशीहरुको पनि मन जित्न सक्ने उनको भनाई थियो ।

Logo