आर्थिक मन्दिकाे प्रभावः खरिद गर्ने मानिस नहुँदा सस्ताेमा खसी-बोका बेच्न किसान बाध्य

आर्थिक मन्दिकाे प्रभावः खरिद गर्ने मानिस नहुँदा सस्ताेमा खसी-बोका बेच्न किसान बाध्य


अन्य समय भन्दा दशैँमा बढी मूल्यमा बिक्री हुने खसि बाेकाको मूल्य आर्थिक मन्दिका कारण घटेपछि किसानहरु मर्कामा परेका छन्।

अत्याधिक मात्रामा मासुको  खपत हुने दसैँमा नै आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी-बोका खरिद बिक्री कम भएकाले मूल्य सस्तो भएपछि किसानहरु चिन्तित बनेका हुन्। 

सिरहा धनगढीमाई- १३ का किसान शुक्रलाल लामाले गोलबजारको मंगलबारे बजारमा बिक्रीमा ल्याएको बोका अन्य बेला २२-२५ हजारमा बिक्री हुने बोका अहिले १३ हजारमा बिक्री गरेको बताए। उनले भने,‘अन्य बेला यही बोका २२-२५ हजारमा बिक्री हुन्थ्यो, आज त १३ हजार मै बिक्री गर्नुपर्यो।’ 

बजारमा खरिद गर्नेभन्दा बढी खसी-बोका भएकाले दसैँको मुखमा पनि सस्तोमा बेच्न बाध्य भएको उनले सुनाए। 'राम्रो मूल्य पाउँला र दसैँको खर्च जोहो गर्न सजिलो भनेर बोका पालेको थिएँ तर भने जस्तो मूल्य पाइन्' उनले भने। दुर्गा पूजामा बोका बलि दिँदै आएका नरहा- ५ का बलदेव यादवले यो वर्ष सोचेको भन्दा कम मूल्यमा बोका पाएकोले ठूलै खरिद गरेको बताए। उनले अरु वर्ष १५-१७ हजार पर्ने बोका यो पटक ११ हजार मै खरिद गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्।‘सधैं महगोमा बोका किन्नुपर्थ्यो, यो पटक भने सोचेको भन्दा धेरै कम मूल्यमा बाका पाएँ,’ उनले भने। 

गोलबजार नपा ६ मा लाग्ने खसी बजारमा अहिल्लो दसैँको बेला प्रत्यक हटिया तीनसय भन्दा बढी खसी बोका बिक्री हुने भए पनि यो वर्ष आधाभन्दा कम बिक्री भइरहेको बजारका ठेकेदार बिरेन्द्र यादवले बताए। उनले भने, ‘दसैँका बेला हामीलाई खसी बोको पूर्जा बनाउन पनि हम्मे हम्मे पर्थ्यो, हिजो आज हटियामा एकसय बिक्न पनि मुस्किल हुने गरेको छ।' 

दसैँका बेला बजार मूल्य ह्वात्तै बढे पनि खसी बोकाको मूल्य भने स्वात्तै घटेको छ। जसका कारणा बाख्रा पालक किसान भने मर्कामा परेका छन्। बजार मूल्य बढेका र आर्थिक मन्दिका कारण बजारमा दसैँ आएजस्ताे चहलपल पनि नदेखिएको स्थानियले बताएका छन्।

Skip This
Logo