सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे चासो राख्नपर्छः माधव नेपाल

सरकारले विदेशमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे चासो राख्नपर्छः माधव नेपाल


नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले इजरायलमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे सरकारले चासो राख्नुपर्ने बताएका छन्। उनले विदेश र स्वदेशमा रहेका नेपालीको समस्यालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्ने धारणा राखेका हुन्।

बुधबार भक्तपुरमा आयोजित दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले इजरायलसँगै अन्य देशमा रहेका नेपाली कामदारको सुरक्षा र उनीहरुको अवस्थाबारे सरकारले चासो दिनुपर्ने धारणा राखे। उनले विदेशी नेपालीको मात्र नभई स्वदेशी नेपालीको समस्या समाधानमा समेत सरकारले पहल गर्नुपर्ने बताएका छन्। 

इजरायल-प्यालेस्टीन युद्धमा परि १० नेपालीको मृत्युले देश स्तब्ध बनेको,सरकारले मृतकका परिवारलाई राहतको व्यवस्था गरी सान्वना दिएको र त्यहाँ फसेका १५४ जना नेपालीको उद्दार गरी ल्याएको चर्चा गर्दै उनले थपे,‘अरु पनि धेरै नेपालीहरु इजरायलमा काम गरिरहेका छन्। उनीहरुको सुरक्षाको बारेमा र त्यहाँ रहेका नेपालीको बारेमा मात्रै होइन अन्य देशमा रहेका नेपालीहरुको सुरक्षा र अवस्थाको बारेमा सरकारले चासो राख्नुपर्छ। विदेशमा गएका नेपाली कामदारको मात्र होइन स्वदेशमा रहेका नेपालीहरु जो गरिबी,अभाव र बेरोजगारीले पीडित छन्,जो अन्याय,अत्याचार र थिचोमिचोले पीडित छन् ती सबैको समस्यालाई राज्यले केन्द्रविन्दुमा राख्नुपर्छ।’

उनले विदेशमा श्रमका लागि गएका नेपाली र नेपालमा रहेका बेरोजगारी नेपालीका समस्यालाई राज्यले सम्बोधन गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताए। 

उत्पादनसँग रोजगारीलाई जोड्न कृषिलाई उच्च प्राथमिकता आफूहरुले दिएको बताए।  ‘हामीले रोजगारीको विषय र त्यसलाई उत्पादनसँग जोड्ने विषय र उत्पादनसँग जोड्दा कृषिलाई उच्चतम प्राथमिकता दिनुपर्छ भन्ने विषयलाई अगाडि सारेका छौँ। कृषिलाई देशको अर्थतन्त्रको बलियो जगको रुपमा लिनुपर्छ। कृषिको जगमा नै नेपालको अर्थतन्त्रको घर बन्न सक्दछ। त्यो जगमा उभिएर पर्यटन र जलविद्युतको विकास गरी अर्थतन्त्रको विकासलाई गतिदिन सकिन्छ। त्यसैले कृषि,पर्यटन र जलविद्युत देशको अर्थतन्त्रको बलियो क्षेत्र हुन्,’ नेपालले भने। 

उनले देशको मुख्य समस्या नै भ्रष्टाचार भएको उल्लेख गर्दै सुशासन, रोजगारी र समृद्धिलाई अघि बढाउन आफ्नो पार्टीले यी तीनलाई नारा नै बनाएर अघि बढेको बताए। 

Logo