दसैंमा मासु मात्र होइन, शैलुङको स्वादिलो काउली र बन्दा पनि खानुस्

दसैंमा मासु मात्र होइन, शैलुङको स्वादिलो काउली र बन्दा पनि खानुस्


दशैँको बेलामा मासु खाएको मुखको स्वाद फेर्न वा शाकाहारीलाई स्वादिलो तरकारी खानेको लागि शैलुङमा फलेको काउली, बन्दा र गाँजर बजारमा आइपुगेको छ ।   

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा शैलुङका किसान अहिले काउली, बन्दा र गाँजर बेच्न व्यस्त छन् । दशैँको लागि काठमाडौं लगायत बजार केन्द्रमा शैलुङका स्वादिला तरकारी पुर्याउन व्यापारीहरू किसानको बारीमा पुगेका छन् । 

शैलुङका किसान बारीमा उत्पादन भएको बन्दा, काउली, गाँजर लगायतका तरकारी उठाउन र बिक्री गर्न व्यस्त छन् । चिसो हावापानीमा उत्पादन हुने तरकारी स्वादिलो र गुणस्तरीय हुने भएकोले जिल्ला सदरमुकाम मन्थली तथा काठमाडौं लगायत बजारमा शैलुङको तरकारीको राम्रो माग रहेको छ । 

बेसिजनको तरकारी भएकोले अहिले तरकारीको बजार भाउ पनि राम्रो छ । शैलुङमा किसानको बारीमा व्यवसायीले प्रतिकेजी ४० देखि ५० रुपैयाँको  दरले काउली खरिद गर्ने गर्दछन् । त्यो काउली बजारमा पुग्दा १ सय २० देखि १ सय ५० रुपैँया किलोसम्म बिक्री हुने गरेको छ ।  

बजार भाउ अनुसार किसानले उचित मूल्य नपाए पनि बारीबाटै तरकारी बेच्न पाउँदा किसानलाई सजिलो भएको शैलुङका किसान दावासङ्वु शेर्पा बताउँछन् । बारीमा लगाएको तरकारी जति पनि बिक्री हुन लागेपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा लागेका शेर्पाले बताए । ‘अब शैलुङको पहिचान नै आलु र तरकारी भइसक्यो, किसानले आलु र तरकारी बाहेक अन्य बाली त लगाउनै छाडिसके’, उनले भने । 

व्यावसायिक रूपमा आलु उत्पादनबाट वार्षिक लाखौँ रुपैँया आम्दानी गर्ने शैलुङका किसान अब तरकारी खेतीबाट पनि राम्रो आम्दानी गर्न लागेका छन् । यस वर्ष शैलुङका किसानले ५० टन बढी काउली, बन्दा, गाजर लगायतका तरकारी बेच्ने अनुमान शेर्पाले सुनाए । 

शैलुङका अगुवा किसान समेत रहेका शेर्पाकै पहल र समन्वयमा शैलुङमा आधुनिक आलु बिउ उत्पादन घर समेत स्थापना भएर उन्नत जातको आलुको बिउ उत्पादन भइरहेको छ । त्यस्तै किसानलाई तरकारी खेती तालिम प्रदान गरी व्यावसायिक तरकारी खेती समेत सुरु भएको छ । जसले गर्दा शैलुङका किसानको आम्दानी उल्लेख्य वृद्धि भएको छ । 

Logo