१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् निर्माण हुने

१२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् निर्माण हुने


जलस्रोतमा सम्पन्न मानिएको कोशी प्रदेशमा ठूलो परिमाणमा बिजुली उत्पादन भइरहेको छ । यो वर्ष विभिन्न ठूला साना जलविद्युत् आयोजनाहरु बन्ने निधो भएपछि थप बिजुली उपलब्ध हुने भएको हो ।

पछिल्लो पटक १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको निर्माण हुने टुंगो लागेको छ । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेसँगै अब आयोजना निर्माण प्रक्रिया अघि बढ्ने भएको छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित रहेको आयोजनाका लागि २०७७ असोज २५ गते बिद्युत विकास विभागबाट अनुमति प्राप्त भएको थियो ।

सम्झौताअनुसार कम्पनीले २०८५ असोज २५ गतेभित्र बिजुली उत्पादन गरिसक्नुपर्ने जनाइएको छ । स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बूका अनुसार आउँदो चैत पहिलो सातादेखि निर्माणको काम अघि बढाउन लागिएको छ ।

६ महिनाभित्र बैंक तथा वित्तीय संस्थाहरूमार्फत् वित्तीय व्यवस्थापनको कार्य पूरा गरिने उनले बताए । यसबाहेक शेयर पुँजीबाट लगानी परिचालन गर्ने तयारी पनि आयोजनाको छ । उक्त आयोजनाले वर्षायाममा ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ युनिट र सुख्खा याममा ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ । 

वर्षा यामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ । आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ ।

२४ अर्ब ३२ करोड रुपैयाँ कूल लागत अनुमान रहेको आयोजनाको लागतमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋणबाट र २५ प्रतिशत प्रवर्द्धकबाट शेयर पुँजी लगानी हुने स्पार्कले जनाएको छ । 

Skip This
Logo