कोसीमा सरकार निर्माणले सत्ता गठबन्धनमा कुनै असर गर्दैनः शेखर कोइराला

कोसीमा सरकार निर्माणले सत्ता गठबन्धनमा कुनै असर गर्दैनः शेखर कोइराला


काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले कोसी प्रदेशमा सरकार गठनको कुराले सत्ता गठबन्धनमा कुनै असर नपर्ने दाबी गरेका छन्।

गृहनगर विराटनगर आएका नेता कोइरालाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो दाबी गरेका हुन्। कोसी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको उनको भनाइ छ।

कोसीमा गठन भएको सरकारका कारण दलीय गठबन्धन, संघीय सरकार एवं अरु प्रदेशमा कुनै असर नपर्ने कोइरालाले बताए। कोशी प्रदेश मन्त्रिपरिषद् दसैँपछि हुने उनले उल्लेख गरे।

सरकार बनाउन कसैको पनि बहुमत नपुग्ने अवस्थामा प्रदेशमा मध्यावधि निर्वाचनको जोखिम बढेको कुरालाई ध्यान दिँदै त्यसलाई टार्न एमालेसँग मिलेर सरकार बनाइएको कोइरालाले बताए। केन्द्रमा दलीय गठबन्धनले नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोसी प्रदेश सरकारको नेतृत्व दिने सहमति गरेको थियो।

उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै काँग्रेसको कोइराला पक्षका केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए।

कार्की मुख्यमन्त्री नियुक्त भएपछि दुईजना मन्त्री थपेर तीन सदस्यीय मन्त्रिपरिषद गठन गरिसकेका छन्। मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट विश्वासको मत पनि प्राप्त गरिसकेका छन्। उनलाई राप्रपाबाहेकका सबै दलले विश्वासको मत दिएका छन्।

Logo