अर्को फूलपातीमा सार्वजनिक गर्ने गरी सन्तोष सेनको ‘बलिदान’ निर्माण हुँदै

अर्को फूलपातीमा सार्वजनिक गर्ने गरी सन्तोष सेनको ‘बलिदान’ निर्माण हुँदै


आसुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बलिदान’ को शीर्षक सहितको ’थिमलुक’ सार्वजनिक गरिएको छ । 

नेपाली चलचित्रको श्रेष्ठ सिरिज ’प्रेम गीत’ सिरिजका प्रणेता तथा पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा व्यावसायिक प्रदर्शन सुरुवात गरेका सन्तोष सेनले यो चलचित्र बनाउन लागेका हुन् ।

शनिवार दसैँ, फूलपातीको अवसर पारी घोषणा गरिएको ‘बलिदान’ को रिलिज २०८१ सालको फूलपातीको दिन तय गरिएको छ।

‘बलिदान’ को निर्देशन सन्तोष आफैंले गर्दैछन्। आसुसेन प्रालि तथा सन्तोषको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिष्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरीलगायत छन्।त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ’स्क्रिप्ट डक्टर’ का रूपमा मनोज पण्डित छन्।

‘थिमलुक’ मा सार्वजनिक सामग्रीअनुसार ‘बलिदान’ को कथामा राज्यका अधिकार प्रयोग गर्न सक्ने वर्ग र राज्यबाट किनारा पारिएका वर्गकाबीच हुने अधिकारका द्वन्द्व तथा राजनीतिक, सामाजिक द्वन्द्व, विभिन्न आन्दोलनहरूको उत्पत्ति, कारण र परिणामको विषय चित्रण हुनेछ।

चलचित्रका निर्माता तथा निर्देशक सेनले यो चलचित्रलाई ‘एक सार्वभौम महाकथा’ भनेका छन्। ‘नेपालको पछिल्लो राजनीति तथा मधेसमा भएका आन्दोलनका मुद्दामा आधारित छ कि छैन भन्ने सन्दर्भमा शान्तिपूर्ण आन्दोलन गर्दा आफ्नो स्वार्थको दाल दल्ने देशी-विदेशी कुटिलहरू प्रवेश गरी उत्पन्न हुने परिवेशलाई चित्रण गर्ने हुनाले यसको कथा नेपालको मधेसको त हो नै, साथै जहाँ पनि र जहिले पनि यस्ता मुद्दा चलिरहने हुँदा एक सार्वभौमिक महाकथा हो’ सेनले भने।

यो चलचित्रमा विषयवस्तु यथार्थ रहेको तर स्थान तथा पात्र काल्पनिक रहेको सेनले बताए। ‘काल्पनिक रङ दिएर नेपाली समाजमा भए गरेका मधेस मुद्दालगायत सबैतिर देखिने राज्य पीडितका मुद्दालाई सशक्त रूपमा उठाउने र नेपाली राजनीतिको सुक्ष्म अवलोकन गरी नेपालमा सधैँ अस्थिरता फैलाइरहने कुटिल तत्वको पहिचान गरी त्यस्ताबाट सचेत हुने सन्देश चलचित्रमा दिनेछौँ’,उनले भने।

सेनका अनुसार चलचित्रमा सहज आन्दोलन या अधिकारको लडाइँ हुँदा देशी-विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पारिन्छ भन्ने कुरालाई चित्रण गरिनेछ। अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युगपुरुष जन्माउँछ भन्ने सत्यलाई पनि चलचित्रको कथामा आत्मसात् गरिने उनले बताए।

‘त्यस्ता युगपुरुषले नै तानाशाही कुटिलहरूको बलि दिएर समाज तथा भूगोल टुक्रिनबाट कसरी योगदान दिइरहेको हुन्छ र युगमा परिवर्तन आउँछ भन्ने सार्वभौमिक सत्यको प्रतिपादन गरिने चलचित्र बलिदान हो’ सेनले भने। तिहारलगत्तै यो चलचित्रको छायाङ्कनमा जाने तयारी गरिएको छ।

Logo