हङकङले पायो २१४ रनको विशाल लक्ष्य, कुशल शतकबाट चुके

हङकङले पायो २१४ रनको विशाल लक्ष्य, कुशल शतकबाट चुके


युवा अलराउण्डर कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विष्फोटिङ अर्धशतकमा नेपालले त्रिकोणात्मक टि२०आई सिरिजअन्तर्गत हङकङविरुद्ध विशाल लक्ष्य प्रस्तुत गरेको छ । 

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ९२ रनको अर्धशतकीय इनिङ खेले । ४० बल खेलेका उनले ३ चौका र ९ छक्का प्रहार गरे । शतक बनाउने धुनमा ठूलो शट खेल्दा उनी क्याच आउट हुन पुगे । 

साथै दीपेन्द्रसिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ खेले ।  

नेपालको सुरुवात राम्रो हुन सकेन । ९ रन जोड्दा पहिलो विकेटका रुपमा कुशल भुर्तेल २ रनमै आउट भए । तेस्रो नम्बरमा आएका सोमपाल कामी पनि ८ रनमा आउट भए । ओपनर आसिफ शेख २० तथा कप्तान रोहित पौडेल ११ रनमा समेटिँदा नेपालले ५५ रन मात्रै जोडेकाे थियो तर, जब कुशल र दीपेन्द्र क्रिजमा जमे अनि नेपालको रनको वर्षा भयो । उनीहरुले १४५ रनको साझेदारी गरेका थिए ।

बलिङमा हङकङका लागि मोहमद घजन्फ़रले २ विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले १/१ विकेट प्राप्त गरे ।

Skip This
Logo