किलिमन्जारो आरोहणमा जान लागेका पाण्डेलाई महजोडीले गरे बिदाई

किलिमन्जारो आरोहणमा जान लागेका पाण्डेलाई महजोडीले गरे बिदाई


सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्षका साथ अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गर्न जान लागेका पर्वतारोही प्रकाशराज पाण्डेलाई महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) तथा हास्य कलाकार किरण केसीले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाइ गरेका छन् । 

पाण्डे सो शिखर आरोहणका लागि दशैँको टिकाकै भोलिपल्ट अफ्रिकाको तान्जेनिया तर्फ जाँदै छन् । तान्जेनियामा रहको सो शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो रहेको छ । जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो । 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका पाण्डेले गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल पनि आरोहण गरिसकेका छन् । 

पाण्डेलाई बिदाइ गर्दै मदनकृष्ण श्रेष्ठले शिखर आरोहणको शुभकामना व्यक्त गरे । हरिवंश आचार्यले युरोपको हिमाल चढ्न जाँदा पनि आफूहरूले पाण्डेलाई यसै गरी बिदाइ गरेको र अफ्रिका जान लाग्दा पनि बिदाइ गर्न पाएको भन्दै खुसी व्यक्त गरे । ‘तपाईँ हिमाल चढ्ने, हामी बिदाइ गर्ने, यो हाम्रो लागि पनि गौरवको विषय हो’, उनले भने । 

अर्को कलाकार किरण केसीले बिना अवरोध हिमाल चढ्न सफलता मिलोस् भन्दै शुभकामना दिए । उनले पाण्डेलाई नेपालको मान र नेपालको सानको संज्ञा दिए । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । 

यसअघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए ।

सगरमाथा आरोहण पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका छन् । उनले हालसम्म विभिन्न नौ वटा हिमाल आरोहण गरेका छन् । एक वर्ष भित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना प्रकाशको छ । 

Logo