#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32245687984166747790323783618
नेपाल693014531843750411

मुख्यमन्त्रीद्वारा सीमानाका अनुगमन

भीमदत्तनगर ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार बिहान गड्डाचौकी नाकाको स्थलगत अनुगमन गरेका छन् । उनले विश्वव्यापी कोरोना भाइरस महामारीको रुपमा फैलिइ सकेको अवस्थामा उच्च सर्तकता अपनाउन सीमानाकामा अनुगमन गरेका हुन् ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि प्रदेश सरकार लागि परेको उनको भनाइ छ । ‘सीमानाकाबाट नेपाली घर फर्किने क्रम बढेकाले सीमानाकामा सतर्कता अपनाउन लागिएको छ’–उनले भने–‘थप सुरक्षा र सतर्कता अपनाउन संघीय सरकारसँग पनि सहयोग र समन्वय हुन्छ ।’ कैलाली र कञ्चनपुरमा बृहत्रुपमा तयारी भइरहेको बताउँदै उनले विभिन्न अस्पताल र वार्ड व्यवस्थापनका लागि पहल भइरहेको बताए ।

मुख्यमन्त्रीसँगै सीमानाकाको अनुगमनका लागि सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, प्रदेशसभा सदस्य लालबहादुर खड्का, भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट, नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी शंकरबहादुर पण्डित लगायतको टोली गड्डाचौकी पुगेको थियो । अनुगमनका क्रममा सामाजिक विकासमन्त्री सुवेदीले दुई थान इन्फ्रारेड थर्मोमिटर मेसिन स्वास्थ्यकर्मीको टोलीलाई उपलब्ध गराएका थिए । साथै सेनाका बाहिनीपति सहायकरथी पण्डितले मुख्यमन्त्रीलाई गड्डाचौकी सीमानाकामा अपनाइएको सतर्कता, स्वास्थ्य परीक्षण र आवश्यक व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

त्यसैगरी स्थानीय प्रशासनले पनि कोरोना भाइरस संक्रमण हुन नदिन बैठक बसी विभिन्न निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनले गड्डाचौकी नाकाबाहेक कञ्चनपुरका अन्य सबै नाकाबाट भारततर्फको आवागमन तत्कालका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए । ‘गड्डाचौकीबाट स्वदेश फर्किएका नेपालीलाई आफ्नो गन्तव्य पुगिसकेपछि अनिवार्य स्वास्थ्य परीक्षणका लागि यहाँका सबै स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको छ’–‘प्रजिअ खतिवडाले भने–‘यहाँको महाकाली अस्पालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्ने भनेका छौँ ।’ उनले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी र एम्बुलेन्सलगायतका सेवा तयारी अवस्थामा राखिएको जानकारीसमेत दिए । बैठकले भीमदत्तनगरमा रहेको सिएमए छात्राबास र जिल्ला प्रशासन कार्यालयको पुरानो भवनलाई तत्काल क्वारेन्टाइनस्थलका रुपमा प्रयोग गर्ने निर्णयसमेत गरेको छ ।—रासस

सम्बन्धित समाचारहरु