म्यानचेस्टर सिटीको सहज जित

म्यानचेस्टर सिटीको सहज जित


युरोपेली च्याम्पियन्स लिगको साविक विजेता म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ।

समूह जि मा लगातार तेस्रो जित निकाल्ने क्रममा सिटीले योङ्ग ब्वाइजलाई ३-१ ले पराजित गरेको हो। सिटीको जितमा एर्लिंग हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरे।

सिटीले सुरुवाती अग्रता दोस्रो हाफको सुरुवाती समयमा लिएको थियो। रुबेन डियासको हेडर पोस्टमा लागेर फर्किएपछि आकान्जीले बललाई जालिको दिशा देखाउँदै खेलमा सिटीलाई अग्रता दिलाएका थिए।

त्यसको चार मिनेट पछि योङ्ग ब्वाइजले खेलमा बराबरी गोल गर्यो। मेससाक एलियाले सुन्दर फिनिश गर्दै खेलमा बराबरी गरेका थिए। त्यसपछि सिटीले दुई गोल थप्दै खेलमा तीन अंक हासिल गर्यो।

६७औं मिनेटमा हालान्डले पेनाल्टी मार्फत खेलमा सिटीलाई पुनः अग्रता दिलाए। रोड्री बक्समा लडेपछि पाएको पेनाल्टीमा हालान्डले कुनै गल्ती गरेनन्। ८६औँ मिनेटमा हालान्डले अर्को गोल गर्दै जित सुनिश्चित गरे। उनले रोड्रीकै पासमा गोल गर्दै व्यक्तिगत दोस्रो गोल गरेका थिए।

यस्तै सोही समूहमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई ३-१ ले हराउदै तीन अंक बटुलेको छ। समूह जि मा शीर्ष स्थानमा रहेको सिटीको ९ अंक रहँदा ६ अंक सहित लाइपजिग दोस्रो स्थानमा छ। बेलग्रेड र योङ्ग ब्वाइज समान १-१ अंक सहित क्रमसः दोस्रो र तेस्रो छन्।

Logo