#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1430516820191046669301828
नेपाल9081

कोरोनाको कहरले प्रकम्पित विश्व

  • जयदेव गौतम

अहिले विश्वलाई अभूतपूर्व रूपले आक्रान्त पारिरहेको कोभिड–१९ नाम गरेको महामारीले बित्दै गरेका दिनहरूसँगै झन्झन् उग्र अवतार धारण गर्दै गइरहेको देखा पर्दैछ । गत डिसेम्बर (पुस) मा पहिलोपटक देखा परे यताका केवल तीन महिना (मार्च २२ सम्म) मै यो महामारीले विश्वका तीन लाखभन्दा धेरै मानिसलाई संक्रमित पारिसकेको छ भने करिब १४ हजार मानिसको प्राण लिइसकेको छ । करिब एक लाख मानिस यो रोगले संक्रमित भएर पनि उपचारपछि स्वास्थ्यलाभ गर्न सफल भएका छन् भने हजारौं चाहिँ निरन्तर उच्चतम जोखिममा छन् । दोस्रो विश्वयुद्धपछि शीतयुद्ध, आतंकवाद, सुनामी, समुद्री आँधी, बर्ड फ्लू, स्वाइन फ्लू, सार्स, इबोला आदि अनेक नामधारी विनाशक सन्दर्भहरू देखा परेको भए पनि अहिलेसम्म कोभिड–१९ ले जस्तो गरी अन्य कुनै विषयले समग्र विश्वलाई नै यतिविधि त्राहिमाम पारेको थिएन ।

भयको विषय त के हो भने यो कोभिड–१९, जसलाई कोरोना भाइरस भनेर आमरूपले चिन्ने गरिएको छ, कहिले थामिने हो भन्ने नै थाहा हुन सकेको छैन । सारा विज्ञान र चिकित्सा क्षेत्र तन्मय भएर लागिरहँदा पनि अहिलेसम्म यस महामारी रोगको यक्किन उपचार र औषधि आविष्कार हुन सकिरहेको छैन, त्यस्तो औषधि (भ्याक्सिन आदि) चाँडै पत्ता लागिहाल्छ भन्ने कुनै संकेत पनि विश्व स्वास्थ्य संगठनसमेतले दिन सकेको छैन । यो महामारीले कसलाई छुन्छ र कसलाई छुँदैन भन्ने केही छैन, के धनी के गरीब केही नभनी ‘राजादेखि रङ्कसम्म’ जसलाई जहाँ जुनसुकै बेला पनि संक्रमित पार्न सक्छ ।

समस्या नजानिँदो तबरले गत वर्ष २०१९ को अन्तिम महिना अर्थात् डिसेम्बरको तेस्रो सातादेखि मध्य चीनको वुहान प्रान्तबाट सतहमा आएको थियो । यसलाई सर्वप्रथम अमेरिकी दैनिक ‘वासिङ्गटन पोस्ट’ ले आफ्ना दुई पत्रकार गेरी शिह र लीना सुनले पठाएको रिपोर्ट ‘अनआइडेन्टीफाइड एन्ड पोसिबली न्यु भाइरल डिजिज इन सेन्ट्रल चाइना’ शीर्षकमा २०२० जनवरी ८ को संस्करणमार्फत पहिलोपटक संसारसामु ल्याएको थियो । निमोनियामा जस्तै ज्वरो आउने, खोकी लाग्ने वा फोक्सो जलेको महसुस हुने नयाँ किसिमको यो रोगलाई ‘कोभिड–१९’ भनियो र यसको संक्रमण फैलाउने कीटाणुलाई ‘कोरोना भाइरस’ । विश्व स्वास्थ्य संगठनका अनुसार, ‘‘कोभिड–१९ छोटकरी रूप हो जसको पूरा रूप हुन्छ, ‘कोरोना भाइरस डिजिज २०१९’ अर्थात् सन् २०१९ मा पहिलोपटक थाहा हुन आएको रोग । कोरोना भाइरस पनि आफैँमा एक्लो प्रकारको कीटाणु होइन, बरु यो त कीटाणुहरूको बृहत् परिवार हो । कोरोना आफैँमा ल्याटिन शब्द हो जसको अर्थ हुन्छ– श्रीपेच अथवा प्रकाश–घेरा । कोभिड–१९ रोगको कीटाणु चाहिँ सार्स–कोभ–२ हो ।’’

धेरैजसोलाई यो रोग सास सम्बन्धी सामान्य रोगका रूपमा लागेर विशेष उपचारबिना पनि निको हुने चिकित्सकहरू बताउँछन् । तर आमरूपले वृद्धवृद्धाहरू र विशेषगरी मुटुरोग, डायबिटिज, क्रोनिक श्वास–प्रश्वास रोग र क्यान्सर रोगले पीडित वा प्रभावित भइबसेका व्यक्तिहरूलाई यो रोगले गम्भीर अवस्थामा पुर्‍याउन सक्ने सम्भावना रहेको जानकारी विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको छ । राजधानी वासिङ्गटन डिसीबाट दैनिक प्रकाशित हुने वासिङ्गटन पोस्टमा त्यो समाचार छापिएको दुई साता बित्न नपाउँदै जनवरी १९ तारिखमा सुदूर वासिङ्गटन राज्यमा कोरोना भाइरसबाट संक्रमित भई एकजना अमेरिकी नागरिकको मृत्यु भएको पहिलो घटना सार्वजनिक भयो । त्यसपछि त क्रमशः कोरोना भाइरस क्यालिफोर्निया, न्युयोर्क, फ्लोरिडा, लुजियाना आदि हुँदै एकपछि अर्को गर्दै सम्पूर्ण अमेरिकी राज्यहरूमा विस्तार हुँदै गयो, अझ संक्रमित बढ्दोे छ ।

कोरोना भाइरसबाट संक्रमित भई प्राणान्त हुने अमेरिकी नागरिक वासिङ्गटन राज्यनिवासी नै थिए र उनी चीनबाट भर्खर स्वदेश फर्किएका थिए । त्यस घटना यता अमेरिकाका सबै ५० राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया अर्थात् वासिङ्गटन डिसी, गोआम, पोर्तोरिको र युएस भर्जिन आइल्याण्डसमेतमा गरी अहिलेसम्म कोरोना भाइरस–संक्रमित व्यक्तिको करिब संख्या ३२ हजार पुगिसकेको छ । यी संक्रमितमध्ये दश हजारभन्दा धेरैजना त न्युयोर्क राज्यमा मात्र छन् भने वासिङ्गटन र क्यालिफोर्निया राज्यहरू प्रत्येकमा एक हजार भन्दा बढी छन् । यो भाइरसबाट अमेरिकामा मर्नेहरूको संख्या मार्च २२ तारिख अर्थात् आइतबारसम्ममा ४३२ पुगिसकेको छ जसमध्ये सर्वाधिक न्युयोर्कमा ११७, वासिङ्गटन राज्यमा ९५, क्लालिफोर्नियामा ३०, जर्जियामा २३, लुजियानामा २०, न्यु जर्सीमा २०, फ्लोरिडामा १३, मिचिगनमा १२ जना र अन्य राज्यहरूमा १ देखि ८–९ जनासम्मको मृत्यु भइसकेको छ । सबै राज्यहरूमा यो महामारीबाट संक्रमित हुने र प्राण गुमाउनेको संख्या दिनहुँ बढ्दो क्रममा छ ।

विश्वव्यापी रूपमा यो महामारी चीनबाट सुरु भएको स्थिति रहे पनि यसबाट सबैभन्दा बढी प्रभावित इटाली भइरहेको छ जहाँ ५८ हजारभन्दा बढी संक्रमित छन् भने ५ हजार ४०८ जनाको मृत्यु भइसकेको छ । (चीनमा प्रभावित संख्या ८१०५४ र मृत्यु संख्या ३२६७ जना छ) । यसैगरी बढी प्रभावित देशमध्ये स्पेनमा यो महामारीले मर्नेहरूको संख्या १७५६, इरानमा १६८५, फ्रान्समा ५६२, बेलायतमा २८१, नेदरल्यान्ड्समा १७९, दक्षिण कोरियामा १०४, जर्मनीमा ९२, बेल्जियममा ७५, इन्डोनेसियामा ४८, जापानमा ४० छ भने फिलिपिन्समा २५, सैन मरिनोमा २०, भारतमा ७ जना यो महामारीका सिकार भइसकेका छन् ।

यस महामारीको सुरुआत भएपछि अमेरिकामा यसबारे चर्चा र बहस चले पनि प्रारम्भमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘चाइनिज भाइरस’ भन्ने संज्ञा दिए र उतिसारो चासो देखाएनन् । तर पछि यसले महामारीकै रूप लिएपछि भने उनलाई आपत् परेको अवस्था छ । अमेरिकाको अर्थतन्त्र–विश्वका अन्य देशमा जस्तै– नराम्ररी धराशायी हुने अवस्थातिर उन्मुख छ । धेरै उद्योग–व्यवसाय बन्द भएका छन्, होटल,रेस्टुराँ, पब, जिम, बार, सार्वजनिक पार्क आदि सबै बन्द भएका छन्, नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनिएको छ । महामारीको सन्त्रास निरन्तर बढ्दो छ ।

नेपालमा यस महामारीबाट संक्रमित व्यक्ति हालसम्म (एकजना बाहेक) नदेखिएको भए पनि यसले कुनै पनि बेला आक्रमण गर्न सक्ने सम्भावना लामो समय रहिरहन्छ । आवश्यक रोकथामका लागि सम्पूर्ण उपाय अवलम्बन गर्नु नै यसबाट बच्ने उपाय हो । सरकार र नागरिक सबै पक्ष यस दिशातिर अग्रसर देखिनु स्वागतयोग्य एवम् सराहनीय अवस्था हो । संवेदनशील अवस्थामा धमिलो पानीमा माछा मार्न खोज्नेहरूबाट सचेत भइरहनु पर्ने सर्वकालीन यथार्थ आत्मसात् गर्नु अहिलेको थप दायित्व हो । कोरोनाको कहरले कम्पित मानव कायाहरूलाई त्राण दिलाउन सबै थरी चिकित्सकहरू लागिपरेकै छन् ।

चिकित्सकहरू भन्छन्– कोरोना संक्रमणको औषधि छैन । तसर्थ उपचारमा धेरै खर्च हुँदैन । ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने गर्दा राम्रो हुन्छ । प्राथमिक उपचारका रूपमा सिटामोल वा रुघाखोकी लाग्दा खाइने सामान्य औषधि प्रयोग गर्न सकिन्छ । कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ, तसर्थ कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन । सहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो । गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदम न्यून हुन्छ ।

चिकित्सकका अनुसार बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन । तसर्थ मास्क नपाएपनि डर मान्नु पर्दैन । मास्कभन्दा पंजा महत्वपूर्ण छ । बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भएमा स्प्रिट–कपास, साबुनपानी आदिको प्रयोग गर्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरी लगायतले अस्पताल, चौर (टेन्ट) आदिमा राखेर उपचार गर्छन् । अर्का एक चिकित्सक भन्छन, ‘क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो । तसर्थ डराउनु पर्दैन । किन पनि भने यसको रोकथाम हाम्रो हातमा छ । भीडभाडमा नजाने, हात धोइरहने, विना काम घरबाहिर नजाने गर्दा ९० प्रतिशत रोकथाम हुन्छ ।’

उनी अगाडि भन्छन्, ‘नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं । घाममा बसौं । लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ । भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । नियमित चिया र कफी (दूध र चिनी नहालेको) सेवन गरौँ । सरसफाइमा अल्छी नगरौं ।’

विश्व स्वास्थ्य संगठन के भन्छ ?

स्थितिको गम्भीरतालाई हेर्दै विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि कोभिड–१९ लाई महामारी (प्यानडेमिक) को संज्ञा दिँदै एक वैश्विक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । यो संगठनले जनाए अनुसार, कोरोना कमजोर भाइरस हो । यसको संक्रमण सबैलाई हुँदैन । दीर्घरोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ । तसर्थ कोरोना सर्‍यो भनेपनि आत्तिनु पर्दैन । यसको मृत्युदर निकै कम छ । सामान्य रुघाखोकीले नै पनि विश्वमा प्रत्येक वर्ष ४५ लाख व्यक्तिको मृत्यु हुन्छ ।

कोभिड–१९ महामारी अर्थात् कोरोना भाइरसको समुचित उपचारका लागि कुनै भ्याक्सिन वा औषधि बनिनसकेको अवस्थामा यो भाइरसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भर्खरै केही सुझाव दिएको छ । डव्लुएचओका प्रमुख डा अधानोम टेड्रोसले भनेका ५ उपाय यस्ता छन् –

१. स्वस्थ र पौष्टिक आहार खानुहोस् । यसले तपाईंको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसँग कार्य गर्न सहयोग गर्दछ ।

२.मदिराजन्य पदार्थको सेवन सीमित गर्नुहोस् । गुलिया पेय पदार्थसेवन नगर्नुस् ।

३. धूमपान नगर्नुहोस् । यदि तपाईं कोरोना भाइरसबाट संक्रमित हुनुभयो भने धूमपानले गम्भीर रोगको जोखिम बढाउन सक्छ ।

४. शारीरिक व्यायाम गर्नुहोस् । विश्व स्वास्थ्य संगठनको मापदण्डले भने झैँ बयस्कहरूले दैनिक कम्तीमा ३० मिनेट र बच्चाहरूलाई दैनिक एक घण्टा शारीरिक व्यायाम गराउनुहोस् । यदि तपाईँलाई यो बेला नियामक निकायले अनुमति दिएको छ भने बाहिर पैदल यात्रा गर्नुहोस्, दौडनुहोस् (जगिङ), सवारीमा समेत जानुहोस् तर अरूसँगको दूरी कायम राख्नुहोस् । यदि तपाईं घरभित्रै ‘लकडाउन’ अर्थात् बाहिर निस्कन सक्ने अवस्था छैन भने व्यायाम गर्नुहोस् नाच्नुहोस् । योगासन गर्नुहोस् ।

घरमै बसेर काम गरिराख्नु भएको छ भने लामो समय एउटै आसनमा नरहनुहोस् । तपाईंले कम्तीमा हरेक ३० मिनेटमा ब्रेक लिनुहोस् ।

५. तपाईंको मानसिक स्वास्थ्यबारे ख्याल गर्नुहोस् । यो संकटको बेला तनाव, अलमल र डराउनु सामान्य कुरा हो । यस्तो बेलामा तपाईंले आफ्ना चिनजान र विश्वासिला व्यक्तिसँग कुरा गर्नुहोस् । संगीत सुन्नुहोस्, किताब पढनुहोस् अथवा गेम खेल्नुहोस् ।

र अन्त्यमा, प्रस्तुत आलेखको बीट मार्नका लागि एकजना पाल्पाली कवि झपेन्द्र जिसीले कोभिड–१९ लाई विषय बनाई यथाशक्य यो महामारीबाट बच्नका लागि विशुद्ध नेपालीपनमा आधारित ओखती सुझाउँदै सिर्जना गरेको कविता फेरि एकपटक यहाँ उद्धृत गर्ने अनुमति चाहन्छु–

भेटघाटमा नमस्कार भनौं ।
भीडभाडदेखि टाढा बनौं ।
बाँच्ने बँचाउने बाटो खनौं।
कोरोना भाइरसलाई मूर्दाबाद भनौं ।

हामी साँझ बिहान
बेसार खान्छौँ अदुवा खान्छौं
टिम्मुर खान्छौँ मेथी खान्छौँ
मरिच खान्छौँ खुर्सानी खान्छौँ
अमिलो पिरो टर्रो खान्छौँ
तितो खान्छौँ मीठो खान्छौँ
यी भनेकै एन्टिवायोटिक हुन्
जुन हामीले सधैँ खान्छौँ
त्यसैले केही हुन्न
सरसफाइ भने खुब गरौँ
त्यस्तो जाबो कोरोना भाइरसको त
के कुरा !
उसको बाउ बुढ्बाउले पनि छुन्न
छुँदै छुन्न छुँदै छुन्न ।

सम्बन्धित समाचारहरु

ताजा समाचार