महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेट

महासचिव गुटेरेस र उपप्रधानमन्त्री श्रेष्ठबीच शिष्टाचार भेट


नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शिष्टाचार भेटवार्ता भएको छ। 

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपालको आर्थिक–सामाजिक विकासको प्राथमिकता र त्यसपक्षमा राष्ट्रसंघको भूमिकाबारे खुलेर छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले जलवायु परिवर्तनले नेपालजस्तो पर्वतीय देशलाई बढी जोखिममा पारिरहेको र त्यसको नियन्त्रणमा राष्ट्रसंघले चालेका कदमबारे जिज्ञासा राखेका थिए । 

जवाफमा महासचिव गुटेरेसले राष्ट्रसंघीय जलवायु परिवर्तन सहयोग कोष’को पुनर्संरचना गरी प्रभावित मुलुकका लागि कोषको वृद्धि गरिने बताए । त्यस्तै उनले जलवायु परिवर्तन बहुप्रकोपीय जोखिम पुर्वसुचना प्रणाली स्थापनामा समेत सहयोग गरिने बताएकाे मन्त्री श्रेष्ठको सचिवालयले भनेको छ । 

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल राजनीतिक परिवर्तनपछि गुणात्मक आर्थिक–सामाजिक न्यायसहित विकासको फड्कोमा अगाडि बढ्न खोजिरहेको र वर्तमान सरकारका प्राथमिकताहरू त्यसमै केन्द्रित रहेको बताएका थिए । 

जवाफमा महासचिव गुटेरेसले राजनीतिक, सामाजिक र आर्थिक विकास एवम्  अभियानहरू परिपुरक भएको र नेपालले दीगो विकास, शान्ति स्थापना र शान्ति प्रक्रियाको निष्कर्षका लागि उदाहरणीय अभ्यास गरिरहेकोमा प्रशंसा गरेका थिए । 

Skip This
Logo