पक्राउ परे रिगल

पक्राउ परे रिगल


चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय तोकिए पनि राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । 

बिहीवार दिउँसो सर्वोच्च अदालतले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गरेर रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

तर, नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।  जसको सर्वत्र आलोचना भएको थियो । 

पति चेतनको हत्यारालाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । 

Logo