जावलाखेलमा पुष्प मेलाः ४ सयभन्दा बढी थरीका फूलहरु एकै ठाउँमा

जावलाखेलमा पुष्प मेलाः ४ सयभन्दा बढी थरीका फूलहरु एकै ठाउँमा


यही कार्तिक १४ गतेदेखि जावलाखेल खेलकुद मैदान जावलाखेलमा पुष्प मेला चलिरहेको छ । हरेक वर्ष आयोजना हुने यो १६औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हो ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना पुष्प विकास केन्द्रको सहआयोजना र कृषि पूर्वधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रको सहयोगमा सुरु भएको मेला कात्तिक १८ गतेसम्म चल्नेछ ।

मेलाको मुख्य आकर्षण भनेको विभिन्न थरीका गोदावरी फूलहरू हुन् । मेलामा नर्सरीले उत्पादन गरेको विभिन्न गोदावरी फूलको (पट भेराइटी) इन्कर्भ वा इन्टर मिडियट, रेफ्लेक्स, स्पाइडर र मिनियचरलगायतका गोदावरी फूलहरूको प्रदर्शन गरिएको छ । 

मेलामा फूलबाहेक पुष्पसम्बन्धी बीउबिजन, मल, विषादी, औजार र उपकरण पनि बिक्रीका लागि राखिएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार मेलामा ४ सयभन्दा बढी थरीका फूलहरु अवलोकन र खरिद गर्न सकिनेछ । मेलामा अवलोकन गर्नेहरुको भिड उल्लेख्य मात्रामा छ । मेलामा आउने उपभोक्ताहरुले फुलहरु कसरी हुर्काउने बढाउने र हेरचाह गर्न सक्ने विषयमा सिक्न पनि सक्ने फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष सिताराम पन्तले जानकारी दिए । यसरी मेलाको आयोजना गर्दा उपभोक्ताहरु नर्सरी नर्सरी घुम्ने झन्झट नहुने बताए । 

प्रदर्शनी मेलाले व्यवसायीहरुलाई भन्दा पनि उपभोक्ताहरुलाई सहज भएको पुष्प व्यवसायी धन प्रसाद घिमिरे बताउँछन् । उनले आफ्नो स्टलमा ५० रुपैंयादेखि ६ हजारसम्म पर्ने लक्की डान्सिङ ब्याम्बोको बिरुवा राखेका छन् ।  

महिला पुष्प व्यवसायी तुलसा सुनुवारले मेलामा उल्लेख मात्रामा उपभोक्ताहरु आइरहेकाले आफूहर निकै खुसी भएको बताइन् । उनले आफ्नो स्टलमा ५० रुपैयाँदेखि २ हजार सम्म पर्ने अर्किडका बिरुवाहरु रहेको पनि बताइन् । यसैगरी उनले अर्किडलाई कसरी राम्रोसँगले हेरचाह गर्ने भनेर पनि आफ्नो अनुभव साटासाट गरिन् ।  

Logo