#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व109800659141810460228405
नेपाल6051

आजदेखि लकडाउन झन कडा हुने, अवज्ञा गर्नेलाई ठाउँको ठाउँ कारवाही

काठमाडौं ।
मंगलबारदेखि सुरु भएको देशभरको लकडाउन पहिलो दिन उपत्यकामा ९५ प्रतिशत कार्यान्वयन भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । हिजो सवारी साधनहरुलाई कारबाही गरिए पनि सडकमा हिड्ने पैदलयात्रीलाई कारबाही गरिएको थिएन । तर आज देखि पैदलयात्री पनि कारबाहीमा पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

सरकारको निर्देशन नमान्नेलाई ६ महिना सम्म कैद सजायँ हुने बताइएको छ । आजदेखि साँझ बिहान खाद्यान्नका पसलहरु संचालन हुने तर सडकमा हिड्न नपाइने भएको छ ।

यता जिल्ला प्रशाशन कार्यालय भक्तपुरले पनि लकडाउनको अवज्ञा गर्नेलाई पक्राउ गरी कारबाही गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले जारी गरेको लकडाउनको पहिलो दिन अनुगमनका क्रममा केही स्थानमा उल्लङ्घन भएको पाइएपछि सो कार्यालयले कारवाही गर्ने जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले केही स्थानमा मानिस हिडडुल गरेको र अत्यावश्यक बाहेकका दुई पाङ्ग्रेसवारी साधन सडकमा गुडेको पाइएपछि प्रशासनले कारबाहीको नीति लिएको जानकारी दिइन् ।

उनले आम जिल्लावासीलाई कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यान दिँदै घरबाट बाहिर ननिस्कन आव्हान गरिएको जानकारी दिँदै अत्यावश्यक काम बाहेक घरबाट निस्कनेलाई नियन्त्रणमा लिई कारबाही गरिने बताइन् ।

प्रजिअ पाण्डेको नेतृत्वमा यहाँका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका प्रमुखसहितको टोलीले काभ्रेको सीमानादेखि जिल्लाको चारवटै नगरपालिकाको अवस्थाबारे अनुगमन गरेको छ ।

अत्यावश्यक बस्तुको खरिदका लागि बिहान र साँझ दुई घण्टाको समय छुट्याईएको र सो समय भित्र भीड नगरी सामान खरिद गर्ने व्यबस्थालाई ध्यान दिन आग्रह गरिएको छ ।

यस्तै ललितपुर जिल्ला प्रशासनले पनि लकडाउन उल्लंघन गर्नेलाई कारबाही गरिने जनाएको छ ।

उपत्यका नगरपालिका फोरम काठमाडौंँले कोभिड–१९ सङ्क्रमणको प्रकोप नियन्त्रणभन्दा बाहिर जान नदिन नेपाल सरकारले हाललाई एक साताका लागि गरेको लकडाउनको पूर्ण पालना गर्न नगरवासीसँग अनुरोध गरको छ ।

फोरमले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको उक्त निर्णय समयसापेक्ष भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “ काठमाडौंँ उपत्यकाका सम्पूर्ण नगरवासीलाई यस विषम परिस्थितिमा धैर्य गर्दै कोभिड–१९ विरुद्धको महाअभियान सफल पार्न र यसबाट विजय हासिल गर्न घरमै बसेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।”

सरकारको निर्देशनको वेवास्ता गरी घरबाहिर जाने, समूहमा जम्मा भइ गफ गर्ने जस्ता लापरवाही नगर्न समेत फोरमले उपत्यकावासीलाई अनुरोध गरेको छ । विदेशबाट आएका व्यक्ति टोल छरछिमेकमा भएमा स्थानीय निकाय, जनप्रतिनिधि वा सुरक्षा निकायलाई खबर गरिदिन पनि उपत्यकावासीसँग आग्रह गरिएको छ । विश्वका केही मुलुकको सानो लापरवाहीले ठूलो दुर्घटना निम्तिएको स्मरण गर्दै संयमता अपनाउन फोरमले अनुरोध गरेको छ ।

फोरम काठमाडौंँका अध्यक्ष तथा कमपा प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष तथा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, सचिव तथा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपत्यकावासीलाई कोरोनाका बारेमा आधिकारिक संस्था नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनका सूचनामा मात्रै विश्वास गर्न आग्रह गरिएको छ । फोरम काठमाडौँ उपत्यकाका दुई महानगरपालिकासहित १६ नगरपालिकाको संस्था हो ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार