पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि सुचारु

पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि सुचारु


तनहुँ ।

पहिरो गएपछि मंगलबार बिहान ६ः३० बजेदेखि अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड आठ घण्टापछि दुईतर्फी रुपमा सुचारु भएको छ ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा नजिक खसेको पहिरो हटाइएपछि अवरुद्ध सडक आठ घण्टापछि दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले आठ घण्टाको प्रयासपछि राजमार्ग दुईतर्फी रुपमा सुचारु भएको जानकारी दिए। पहिरो पन्छाइएपछि दिउँसो १२ः३० बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको राजमार्ग २ः३० बजेदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको उनले बताए।

मुग्लिङ र डुम्रेबाट ल्याइएको डोजरले राजमार्गको पहिरो हटाइएको थियो । “डाँडाबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन समय लागेको थियो, अहिले दुईतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएको छ”, प्रहरी निरीक्षक थापाले भने। राजमार्ग सुचारु भएपछि अत्यावश्यक कामका लागि यात्रा गरेका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन् । बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका थिए ।रासस

Skip This
Logo