आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार सुरु

आइटिएफ तेक्वान्दोको दुई दिने सेमिनार सुरु


नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् । मन्त्री लिम्बूले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई तीन तहको सरकारले विशेष प्राथमिकतामा राखेर खेल जगतको विकास गर्न जरुरी देखिएको बताए । खेलाडीको मनोबल उच्च राख्न सरकार तयार रहेको छ । खेलाडीहरुले देशविदेशमा गएर आफ्नो साथै देशका नाम राख्ने काम गरेको छन् । यसले पनि सरकार तथा सरोकारवाल पक्षको ध्यान आकर्षण गरेको उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक तथा विजयी हुने खेलाडीहरुलाई पुरस्कार तथा सेवासुविधा दिने भनेर खेल नीतिहरु संशोधन गरेको बताउँदै, मन्त्री लिम्बूले भने, ‘खेल नीति संशोधन गरेर ठिक्क पारेर राखेका छौं । त्यसलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिएर काम अघि बढिसकेको छ ।’

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका केन्द्रीय प्रवीणकुमार कार्कीले खेल र खेलाडीको स्तर वृद्धिका लागि तीन तहको सरकार मिलेर योजना ल्याए अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने बताए । उनले पछिल्लो खेलकुदका घटनाक्रमले सरकार खेलप्रति गम्भीर भएर लाग्नु पर्ने देखिएको बताए । सरकारको न्यून बजेट र खेल नीतिमा खेल्दै खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा देश नाम राख्न सफल भएको बताए ।

सरकारले विगतको जस्तो खेल क्षेत्रलाई हेला नगरी पर्याप्त बजेटका साथै खेल र खेलाडीहरुलाई सेवा सुविधा प्रदान गरे अझ अन्तर्राष्ट्रिय स्तरका खेलमा उच्च खेल प्रदर्शन गर्दै पदक ल्याउन सक्नेमा कुनै शंका नभएको अध्यक्ष कार्कीले बताए ।

२ दिनसम्म हुने सेमिनारमा २ सय ६५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कलर बेल्टमा प्राविधिक अभिमुखीकरणमा २ सय १५ जना तथा प्रशिक्षक प्रशिक्षणतर्फ ४५ जना छन् । उनीहरुले सैद्धान्तिक, व्यवहारिक, नयाँ खेलका नियमका साथै कसरी खेलाडीहरु प्रशिक्षण दिने भन्ने विषयमा प्राविधि ज्ञान दिइने छ । सेमिनार आइतबारसम्म हुने आयोजकले जनाएको छ ।

Logo