जाजरकोट भूकम्प: बाँकेमा ३८ घाइतेको उपचार हुँदै

जाजरकोट भूकम्प: बाँकेमा ३८ घाइतेको उपचार हुँदै


जाजरकोट र पश्चिम रुकुममा शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएर बाँकेको अस्पतालमा उपचार गर्न ल्याउने बिरामीको सङ्ख्या ३८ पुगेको छ। गए राति एम्बुलेन्सबाट थप छ बिरामी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा ल्याइएसँगै बिरामीहरुको सङ्ख्या ३८ पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। तीमध्ये दुई जना जाजरकोट भेरी नगरपालिका हुन् भने चार जना सानोभेरी रुकुमका हुन्।

घाइतेहरूमध्ये ३७ जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको र एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । यसअघि शनिबार एक जना बिरामीको बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो।

भूकम्पमा गम्भीर घाइते भएका पाँच जनाको शल्यक्रिया सफल भएको जानकारी दिँदै प्रजिअ पोखरेलले सबै बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए। मृतको शव आज जाजरकोट पठाइएको छ। 

अस्पतालमा बिरामी जाजरकोटका २४, रुकुम पश्चिमका १३ र सल्यानका एक रहेका छन्। कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका बिरामीलाई पनि भेरी अस्पताल बाँकेमा सार्ने तयारी भइरहेको बताइएको छ। जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा जनधनको क्षति भएको थियो। 

Logo