एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख रूपैयाँ प्रदान गर्ने

एनआरएनएद्वारा १० करोडको राहत कोष बनाउने घोषणा, अध्यक्ष शर्माले २१ लाख रूपैयाँ प्रदान गर्ने


गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले १० करोडको आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेका छन्। त्यसका लागि अध्यक्ष शर्माले आफ्नो व्यक्तिगत तर्फबाट २१ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन्। 

गैरआवासीय नेपाली संघ एनआरएनए)ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि तत्कालका लागि १ करोड १० लाख रुपैयाँको सहयाेग भएकाे छ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को शनिबारको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर प्रभावित स्थानमा जाने निर्णय गरेकाे हाे।

अध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ।

उक्त कोषका लागि महासचिव बुद्धि सागर सुवेदीले १९ लाख, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख, पूर्व अध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख, उपाध्यक्ष  गोविन्द श्रेष्ठ रोविन्दले ३ लाख, कृष्णजीवि पन्थले २ लाख १११ सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  त्यस्तै उपाध्यक्ष डा.केशव पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने जनाए ।

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारसम्ममा बैंक खाता खोली सबै साथीहरुलाई जानकारी गराउने बताए। कार्यक्रमको संचालन गरिरहेका महासचिव बुद्धिसागर सुवेदीले सबै सहयोगदाताहरुलाई धन्यवाद दिँदै नेपालीलाई विपद परेको बेला मन खोलेर सहयोग गर्न अपिल गरेका थिए।

राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसिया, सीता खतिवडा लगायत रहेका छन्।

यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।

साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ। एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा. हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो।

Logo